१२ असार, काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भावी राजनीतिक भूमिकालाई लिएर बढिरहेको अड्कलबाजीबीच नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णयबिना कुनै पनि पदमा पुग्न नसकिने बतायेका छन् । एमाले सचिवालय बैठकमा पार्टी नेताहरूबीच भण्डारीको सक्रिय राजनीतिमा संभावित आगमनबारे भएको छलफलका क्रममा ओलीले कुनै पदमा आउने दाबी नभएको उल्लेख गर्दै, यदि आउने हो भने त्यसका लागि संवैधानिक प्रक्रिया र पार्टी विधानअनुसार अघि बढ्नुपर्ने बताएका हुन्। ओलीले भने, “पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन सक्ने कुरा गर्नु भएको हो, तर फलानो पदमै आउँछु भन्ने कुरा मसँग छैन। पार्टीले आवश्यक ठानेर निर्णय गरे मात्र अघि बढ्न सकिन्छ।” ओलीले पार्टी नेतृत्व वा पदाधिकारीमा आउनका लागि महाधिवेशनको विधिबाट अघि बढ्नुपर्ने स्पष्ट पारे।“हाम्रो संरचनामा पदाधिकारी चयन प्रतिनिधिमार्फत हुन्छ,” उनले भने, “त्यसैले अहिले अकारण विवाद र भ्रम फैलाउनु आवश्यक छैन।” राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको यो अभिव्यक्तिले भण्डारीको पुनः आगमनलाई एकातिर संभावना खुला राखेको, अर्कातिर नियन्त्रित प्रक्रियामा मात्र अघि बढ्न सक्ने संकेत दिएको देखिन्छ। पछिल्ला दिनहरूमा भण्डारीको सार्वजनिक टिप्पणी र राजनीतिक भेटघाटले एमालेभित्रै असहजता सिर्जना गर्न थालेको सन्दर्भमा ओलीले यस्तो टिप्पणी गरेका हुन्।