काठमाडौं, असार १३ –नेपाली खेलकुदको मौलिक जरा र यसको आधुनिक पुनर्जागरणको समर्पित हस्ती स्व. शरद चन्द्र शाहाको स्मृतिमा स्थापित ‘शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन’ ले आफ्नो दोस्रो वार्षिक सम्मान कार्यक्रम मार्फत खेलकुदप्रति समर्पण देखाउने अनुकरणीय व्यक्तित्वहरूलाई सम्मानित गर्दै एक उदाहरणीय परम्परा कायम गरेको छ।
आज काठमाडौंको कमलादीस्थित होटल रोयल सिङ्गीमा सम्पन्न समारोहमा नेपाली फुटबलका पूराना पथप्रदर्शक राजुकाजी शाक्य र राष्ट्रिय महिला भलिबल टोलीकी प्रेरणादायी कप्तान अरुणा शाही लाई सम्मानित गरिएको हो। यी दुवै सम्मानित खेलकर्मीहरूलाई रु २ लाख ५० हजार नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको छ।
राजुकाजी शाक्यले नेपाली फुटबलको समृद्ध विगतलाई सम्हाल्दै प्रशिक्षकको भूमिकासमेत निर्वाह गर्दै नेपाली फुटबलको गौरवपूर्ण इतिहास निर्माणमा गहिरो योगदान दिएका थिए।
त्यस्तै, अरुणा शाहीको नेतृत्वमा नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय मंचमा देशको पहिचान उचो बनाएको छ। उनको नेतृत्वदायी क्षमता र महिला खेलकुदमा योगदानले देशभित्रै नवप्रेरणा जगाएको छ।
यस कार्यक्रममा फाउन्डेसनका प्रतिनिधिहरूले शरद चन्द्र शाहाको योगदान स्मरण गर्दै नेपाली खेलकुदमा उनले प्रारम्भ गरेको योजनाबद्ध विकास, साउथ एशियन गेम्सको सुरुवातमा लिएको पहलकदमी र एशियाली ओलम्पिक परिषद्को उपाध्यक्ष बन्ने पहिलो नेपाली व्यक्तिको रूपमा स्थापित इतिहासबारे चर्चा गरे।
फाउन्डेसनले विगतमा ‘नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ’ शीर्षकमा फोटो प्रदर्शनी, र नवीन अर्यालद्वारा लिखित “नेपाली खेलकुदको वृतान्त” नामक पुस्तक विमोचन जस्ता सृजनात्मक गतिविधिहरू पनि सम्पन्न गरिसकेको छ।
शरद चन्द्र शाहा स्मृति फाउन्डेसन नेपाली खेलकुदको समृद्ध इतिहास र सम्भावनालाई भावी पुस्तासग गास्ने पुल बनेको छ, जहा श्रद्धाञ्जलि केवल स्मृतिमा सीमित छैन, प्रेरणाको श्रोत बनेको छ।