१३ असार, काठमाडौं -डोल्पाको विकट पहाडी बस्तीहरूमा प्रकृतिको प्रकोपले एकैसाथ पहिरो र बाढीको दोहोरो मार पर्यो। बिहीबार राति काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा गएको पहिरो र त्रिपुरासुन्दरी नगरपालिका–३ भित्तीमा आएको बाढीले गरी करिब दुई करोड रुपैयाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।
गएको राति साढे १२ बजे तिर काइकेको माथिल्लो क्षेत्रबाट लेदोमिश्रित ठूलो पहिरो खस्दा गाउँका ५५ घर प्रभावित भएका छन्। डोल्पा प्रहरी कार्यालयका सूचना अधिकारी टोपेन्द्र बुढामगरका अनुसार पहिरोले ३ घर पूर्ण रूपमा भत्किएको छ भने १२ घर आंशिक र अन्य ४० घर सामान्य रूपमा क्षतिग्रस्त भएका छन्।
क्षतिको मूल्यांकन अनुसार पूर्ण क्षतिग्रस्त घरहरूमा ३६ लाख, आंशिकमा ३० लाख र सामान्य क्षतिमा ९८ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ। मनराज बिक, सुरेन्द्र बिक र धनलाल बिकको घर पूर्ण रूपमा पहिरोमा परेको छ।
अझै पनि पहिरोको जोखिम कायमै रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको बुढामगरले जानकारी दिए।
यसका साथै रिवा गाउँकै पुथा आधारभूत विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। विद्यालय भवनसँगै कम्प्युटर, फोटोकपी मेसिन, सीसीटीभी जस्ता सामग्री नष्ट भई करिब २० लाख बराबरको क्षति पुगेको छ।
यता, त्रिपुरासुन्दरी नगरपालिकामा खोलामा आएको आकस्मिक बाढीले तटबन्ध निर्माणका लागि राखिएका ८५ थान जाली बगाएको छ। त्यस्तै, लालबहादुर दमाई, शुद्ध दमाई र जयकुमार कठायतको घरमा बाढी पस्दा क्षति पुगेको छ।
बाढीले खेतबारी पनि नराम्ररी प्रभावित पारेको छ। कर्णवीर बोहरा, झक्कु दमाई, विष्णु बोहरा, फुक्कु दमाई लगायतका कृषकको तरकारी खेती नष्ट भएको छ भने वडाको मधु क्षेत्रमा करिब ५/६ रोपनी जमिनमा बाढीले क्षति पुर्याएको छ।