१३ असार, काठमाडौं – पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले एसईई नतिजापछि सामाजिक सञ्जालमा ‘मेरो बच्चाको ग्रेड यति आयो’ भन्ने पोस्ट नगर्न सबै अभिभावकलाई आग्रह गरेकी छन्। यस्तो अभ्यासले अरू विद्यार्थी र परिवारमाथि अनावश्यक तनाव सिर्जना गर्ने भन्दै उनले सामाजिक दबाब र अस्वस्थ प्रतिस्पर्धाबाट जोगिन आग्रह गरेकी हुन्। भिडियो सन्देशमार्फत श्रेष्ठले एसईईलाई अन्तिम मूल्यांकन होइन, शैक्षिक यात्राको एउटा चरणमात्र’ भन्दै यसलाई अतिरञ्जना नगर्न सुझाव दिइन्। “कम ग्रेड आयो भनेर हताश नहुनुस्, भन्दै उनले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गरेकी छन्। उनले विशेष गरी अभिभावकहरूलाई संवेदनशील हुन आग्रह गर्दै भनेकी छन्, यस्तो बेला बच्चाहरूको भावनात्मक अवस्था बुझ्नु जरूरी हुन्छ। उनीहरूको मूल्य केवल अंकमा सीमित छैन। श्रेष्ठले तनाव व्यवस्थापनका लागि डायरी लेख्ने, गहिरो सास फेर्ने, वा आफैंलाई शान्त बनाउन सघाउने उपायहरू अपनाउन विद्यार्थीहरूलाई सल्लाह दिइन्। साथै, एसईईपछि विषय छनोट गर्दा ‘अंकको होइन, रुचिको आधार’ अपनाउन सुझाइन्।