+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य/जीवनशैली

एचआईभी संक्रमितको संख्या नेपालमा ३० हजार बढी

जनवाच
६ घण्टा अगाडी

१३ असार, काठमाडौं – नेपालमा एचआईभी संक्रमणको समस्या अझैपनि नियन्त्रणको चरणमा पुगेको छैन, बरु सीमित ‘जोखिम समूह’मा संक्रमण बाक्लो रूपमा देखिदै आएको छ। सरकारी तथ्यांकका अनुसार हाल देशभर एचआईभी संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी छ, जसमा पुरुषहरूको संख्या महिलाभन्दा धेरै रहेको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले प्रस्तुत गरेको अध्ययन अनुसार संक्रमणको मुख्य जोखिममा परेका समुदायहरूमा यौन व्यवसायमा संलग्न महिला, पुरुषसग यौन सम्पर्क गर्ने पुरुष, ट्रान्सजेन्डर समुदाय, लागुऔषध सुई प्रयोगकर्ता, आप्रवासी मजदुर र जेलमा रहेका व्यक्ति रहेका छन्।

नेपालमा एचआईभी संक्रमित गर्भवती महिलाको संख्या मात्रै २ सय २७ पुगेको छ भने वार्षिक नयाँ संक्रमितको संख्या ६१४ रहेको छ। त्यस्तै, एड्ससग सम्बन्धित मृत्यु संख्या वार्षिक रूपमा ५६९ रहेको छ।

जनस्वास्थ्य विशेषज्ञहरूका अनुसार यौन व्यवसायीको संख्या १ लाख १५ हजार ९१९, मेल–मेल यौन सम्पर्कमा रहने पुरुषको संख्या ७७ हजार ३४०, ट्रान्सजेन्डर ३२ हजार ८९५, जेलमा रहेका व्यक्ति २७ हजार ८३९, र सुई प्रयोग गर्ने लागुऔषध प्रयोगकर्ता ४४ हजार ३५० रहेका छन्।

तर, सबैभन्दा ठूलो चुनौती भने परीक्षण र उपचार सेवाको पहुँच अभाव र एचआईभी कार्यक्रमहरूमा दातृ निकायको अत्यधिक निर्भरता हो। विज्ञहरू भन्छन्— यदि अहिलेको गतिमा मात्र अगाडि बढियो भने सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न मुस्किल पर्नेछ।

स्वास्थ्य क्षेत्रमा पूर्वाधार विस्तार, जोखिम समूहको लक्षित पहुँचमा सुधार र दिगो बजेट सुनिश्चित नगरी दीर्घकालीन समाधान सम्भव देखिँदैन। यसकारण नीति निर्माताले ‘जोखिम समूह’का यथार्थलाई बुझेर नयाँ रणनीति निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ