८ असार, काठमाडौं – जन्मदिनको बहानामा बोलाएर कुटपिट गरिदा ३२ वर्षीय युवक कृष्ण लामाको ज्यान गएको घटनामा संलग्न चार जना पक्राउ परेका छन्। एकछिनको विवादले हत्या सम्मको रुप लिएको छ। पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ–५ टुसाल बस्ने विकास लामा लो, बाराको निजगढ नगरपालिका–७ का सुगन्द लामा, निजगढ–५ का सौगात क्षेत्री, र मकवानपुरको बकैया गाउँपालिका–२ का निसान जिम्भा छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। परिसरका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार, विकास लामाको बहिनीको जन्मदिन मनाउने नाममा कृष्ण लामालाई ६ असारको राति टुसाल बोलाइएको थियो। तर मदिरा सेवनपछि सामान्य विवादले उग्र रूप लिदा कुटपिट भयो र त्यसकै कारण कृष्णको मृत्यु भयो। प्रहरी अनुसन्धान अनुसार हत्या पूर्वनियोजित नभए पनि, परिस्थितिजन्य हिंसा भई ज्यान गएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। चारैजनाविरुद्ध कर्तव्य ज्यानको अभियोग लगाइएको छ। काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।