काठमाडौँ, जेठ १९ – रूस–युक्रेन युद्धले एक पटक फेरि नयाँ मोड लिएको छ। तर योपटकको मोड आकाशमै होइन हवाई आधारशिविरमै देखिएको छ। ‘स्पाइडर वेब’ नाम दिइएको गुप्त अपरेशनमार्फत युक्रेनले रूसका सामरिक हतियारलाई घरमै पुगेर ध्वस्त पारेको दाबी गर्दैछ।
युक्रेनको एसबीयू सेक्युरिटी सर्भिस अफ युक्रेन द्वारा अघिल्लो १८ महिनादेखि योजनाबद्ध यो आक्रमणले एकैपटक ४१ लडाकु विमान, जसमध्ये TU-95, TU-22, A-50 जस्ता रणनीतिक बमवर्षक र जासुसी विमानहरू, खेर गएको जानकारी युक्रेनी मिडियाहरूले दिएका छन्।
बेलाया, इभानोभो, ओलेन्या र ड्यागिलेभोजस्ता सुदूर रूसी एयरबेसहरूमा भएको आक्रमणले केवल यन्त्र नष्ट गरेन, रूसी सैन्य सुरक्षा संरचनामै गहिरो प्रश्न खडा गरिदिएको छ। यति टाढा भित्र ड्रोन घुस्न सक्नु र विमानहरूमाथि सीधा आक्रमण गर्नु रूसको आन्तरिक सुरक्षा कमजोरीको संकेत मानिएको छ।
यो हमला परम्परागत युद्धको होइन—नयाँ प्रविधि र धैर्यको मिलन थियो। युक्रेनी एजेन्टहरूले एफपीभी ड्रोनहरूलाई ट्रकमा लुकेर, टाढाबाट सञ्चालन गरी सीधा लक्षित विमानतिर पठाएका थिए। ड्रोनहरूको मूल्य करिब ४० हजार डलर भए पनि तिनले नष्ट गरेका विमानको मूल्य अर्बौं डलर पार गर्यो।
टर्कीको इस्तानबुलमा शान्ति वार्ता सुरु हुनु ठीक अघिल्लो दिन भएको यो आक्रमणले युद्धभन्दा शान्ति गाह्रो हुने संकेत दिएको विश्लेषकहरूको भनाइ छ। युक्रेनी राष्ट्रपति जेलेन्स्की आफैंले यस अपरेशनको निगरानी गरेको र एसबीयू प्रमुख वसिल मलिकको निर्देशनमा कार्यान्वयन गरिएको बताइएको छ।