धनगढी, जेठ १९- सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले तयारी गरिरहेको बजेटमा नेपाली कांग्रेसले पहुँच र सिफारिसको घेराबाट बाहिर ननिस्किए गम्भीर असमानता बढ्ने भन्दै सशक्त आग्रह गरेको छ। कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको सोमबार बसेको पदाधिकारी बैठकले कार्यबाहक सभापति लोकराज अवस्थीको अध्यक्षतामा सरकारलाई औपचारिक ध्यानाकर्षण गराउँदै “बजेट वितरणको मापदण्ड स्पष्ट, न्यायोचित र आवश्यकतामा आधारित” हुनुपर्नेमा जोड दिएको हो। बैठकपछि सार्वजनिक गरिएका भनाइमा प्रवक्ता सुरत बहादुर रावत,डोटेली कान्छाले प्रदेश सरकारले बजेट निर्माणमा दैवी प्रकोप, अति विपन्नता, सीपमूलक कार्यक्रम, पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता विषयलाई उपेक्षा गर्न नहुने स्पष्ट पारे। उनले भने, पहुँच र राजनीतिक सिफारिसको भरमा बजेट बाँड्ने परिपाटीले विकासमा गहिरो असमानता निम्त्याएको इतिहास दोहोरिनु हुँदैन।कांग्रेसले भनेको छ,योजनाहरू अब स्थानीय आवश्यकता र जनताको वास्तविक जीवनस्तरसँग गाँसिएर आउनुपर्छ। कांग्रेस कार्यसमितिले सुदूरपश्चिमको विशिष्ट भूगोल, अविकसित क्षेत्र, पुनर्वासका आवश्यकता, रोजगारी सिर्जना, सीप विकास र स्थानीय उत्पादनसँग जोडिएको बजेट अवधारणा ल्याउन आग्रह गरेको छ। कार्यक्रमले दैनिक जीवनका जरुरी पक्ष,खानेपानी, शिक्षा, स्वास्थ्य, सडक प्रति सरकारको दृष्टिकोण अस्पष्ट भन्दै आगामी बजेटले यी क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने माग गरेको छ।