काठमाडौँ, जेठ १९ – वातावरणीय सचेतनालाई कलात्मक अभिव्यक्तिमा रूपान्तरण गर्ने साहित्यिक प्रयासले शनिबार काठमाडौँमा नेपाली पर्या साहित्य प्रतिष्ठान र साहित्य पोष्टको सहआयोजनामा आयोजित १०औं वातावरण साहित्य गोष्ठी अन्तर्गत सम्पन्न पर्या निबन्ध प्रतियोगितामा तीन जना प्रतिभावान लेखकहरूले आफ्नो सशक्त सिर्जनाबाट नगदसहितको सम्मान प्राप्त गरे। प्रतियोगिताको पहिलो स्थान भवानी खतिवडाले हात पारिन्, जहाँ उनले “प्रलयको आधिबेहरि” शीर्षकमा लेखिएको निबन्धमार्फत जलवायु संकटको मार्मिक चित्रण गर्दै पाठकलाई गहिरो भावनात्मक असर पारिन्। ५० हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित उनको सम्मान गरिएको हो। हरिबोल काफ्लेले प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किन? शीर्षकमा लेखिएको निबन्धमार्फत दोस्रो स्थान प्राप्त गर्दै ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।तेस्रो स्थानमा परेका गोबिन्द गोपाल खतिवठाले “विकासः प्राप्तिको श्रृङ्खला र पछुतोको पुनर्बोध” शीर्षकमा विकास र वातावरणीय पछुतोबीचको द्वन्द्व उजागर गरे। उनले ३० हजार रुपैयाँ राशिको सम्मान पाएका हुन्। प्रतियोगितामा मुलुकभरबाट प्राप्त १०८ निबन्धहरूमध्ये उत्कृष्ट ठहरिएका ३२ निबन्धहरूको संग्रह विमोचन गरिएको थियो। बाँकी २९ प्रतियोगीहरूलाई पनि प्रमाणपत्रद्वारा सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा स्रष्टा विजय हितानको पर्या चेतना झल्किने कविता संग्रह “मलाई आर्यघाट लगेर नजलाउनू” विमोचन गरियो।समीक्षक डा. गीता त्रिपाठी र डा. अशोक थापाले कविता र निबन्ध संग्रहहरूबारे समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै यस्ता कृतिहरू समाजमा हरित चेतना फैलाउन अत्यन्त उपयोगी हुने बताएका थिए। दशौं संस्करणसम्म आइपुगेको वातावरण साहित्य गोष्ठी अब केवल साहित्यिक सौन्दर्यको विषय मात्र होइन, वातावरणीय उत्तरदायित्वको सांस्कृतिक अभिव्यक्तिका रूपमा स्थापित हुँदै गएको छ।