+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

बालमैत्री शिक्षा निर्माणतर्फ ठूलो पाइला: पूर्वप्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न

जनवाच
२ दिन अगाडी

काठमाडौँ, १३ जेठ — प्रारम्भिक बालविकासलाई व्यवहारिक, समावेशी र बालमैत्री बनाउँदै गुणस्तरीय सिकाइको जग खडा गर्न पूर्वप्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला राजधानीमा सम्पन्न भएको छ। नेसनल प्याब्सन र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा एक साता चलेको उक्त कार्यशालाले बालबालिकाको समग्र विकासमा केन्द्रित नयाँ पाठ्यक्रम निर्माण गरेको छ।

कार्यशालामा सातै प्रदेशबाट आएका निजी तथा सामुदायिक विद्यालयका शिक्षक, शिक्षक महासंघ र दुई प्रमुख अभिभावक संघका प्रतिनिधि, साथै विद्यालय संस्थापक प्रिन्सिपलहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूका अनुसार ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित पाठ्यक्रम बालकेन्द्रित सिकाइ, खेलमै शिक्षण र सामाजिक सीप विकासमा केन्द्रित हुनेछ।

कार्यशालाबाट निर्माण भएको पाठ्यक्रमलाई सहभागी विद्यालयका शिक्षकहरूलाई आवश्यक प्रशिक्षण दिएर प्रत्यक्ष कार्यान्वयनमा लैजाने निर्णय पनि गरिएको छ। आयोजक संस्थाहरूले शिक्षामा रुपान्तरण ल्याउने हो भने त्यो यात्रा बालकक्षाबाट सुरु गर्नुपर्छ भन्ने अवधारणालाई मूर्तरूप दिन यो प्रयास गरिएको जनाएका छन्।

काठमाडौँ विश्वविद्यालयका शिक्षा विशेषज्ञहरूको प्राविधिक सहयोगमा बनेको उक्त पाठ्यक्रमले स्थानिय आवश्यकता र बालबालिकाको संवेगात्मक, सामाजिक र संज्ञानात्मक विकासलाई समेटेको छ। अभिभावक प्रतिनिधिहरूले बालमैत्री वातावरण सिर्जना गर्न नीतिगत तहबाटै यस्ता पहल आवश्यक भएको बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ