१३ जेठ, काठमाडौं —धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्क साम्पाङले आउँदो २०८४ को निर्वाचनमा देशभरका सबै पालिका र निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी दिने रणनीतिक घोषणा गरेका छन्। उनले दागरहित, इमान्दार र काम गर्ने इच्छाशक्ति भएका नागरिकहरूलाई उम्मेदवार बनाउने अभियान अघि बढाउने जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो योजना सार्वजनिक गर्दै साम्पाङले लेखेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेद्वारी दिनेछौं। दाग नलागेका इमानदार र काम गर्न चाहनेहरू हाम्रा उम्मेदवार बन्नेछन्।’ हर्क साम्पाङ स्थानीय सरकारमा निर्वाचित भएसँगै इमानदारी र भ्रष्टाचारविरुद्धको धारिलो अभियान चलाइरहेका छन्। उनी धरानमा मेयरको हैसियतले लगातार जनमुखी र प्रत्यक्ष सहभागितामूलक शैली अपनाउँदा राष्ट्रिय तहमा समेत लोकप्रिय बनेका छन्।