काठमाडौं, ७ जेठ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले मौसम सम्बन्धी पूर्वानुमानलाई वास्तविक कार्यान्वयनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। उनले जलवायु परिवर्तनका कारण मौसम प्रणाली जटिल बन्दै गएकोले अबका नीति र योजना पूर्वतयारी र सूचना संप्रेषणलाई केन्द्रमा राखेर बनाइनु पर्ने स्पष्ट पारे। काठमाडौंमा आयोजित राष्ट्रिय मौसम फोरम–२०८२ को उद्घाटन गर्दै मन्त्री खड्काले केही समयअघि सिस्नेरीमा भएको दुर्घटनालाई उदाहरण दिँदै भने, “यदि समयमै पूर्वानुमान र सूचना प्रवाह भएको भए, विद्यार्थीहरूको ज्यान जोगिन सक्थ्यो।” उनले हिमाल आरोहणमा जाँदा समयमै मौसम सूचना नपाएर पर्यटकहरूले ज्यान गुमाउनु परेको घटनाहरू पनि स्मरण गरे। “सूचना वितरण केवल प्रविधिको विषय होइन, जनजीवनको सुरक्षा ग्यारेन्टी हो,” मन्त्री खड्काले भने। उनका अनुसार विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने हुँदा मौसम सूचना वडास्तरसम्म पुर्याउने व्यवस्था गर्न आवश्यक छ। “राती खोलाको बाढीमा सुतिरहेका मजदुरहरू ज्यान गुमाउँदा हामीले बुझ्नुपर्छ — समयमै सूचना नै बचावटको आधार हो,” उनले थपे। पूर्वानुमानलाई वैज्ञानिक दस्तावेजमा सीमित नराख्न चेतावनी दिँदै मन्त्री खड्काले योजनाको निर्माणदेखि संरक्षण, उत्पत्ति र उपयोगसम्मको प्रत्येक चरणमा पूर्वतयारी र पूर्वानुमानको समावेश आवश्यक रहेको बताए। कार्यक्रममा मन्त्री खड्काले जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादक संस्था (IPPAN) बीचको सहकार्यलाई जलवायु सेवा प्रणालीको समृद्धि तर्फको सकारात्मक पाइला भने। कार्यक्रममा विभागका अधिकारीहरूले अघिल्लो वर्षको पूर्वानुमानको समीक्षा गर्दै आगामी वर्षको मनसुन अनुमान प्रस्तुत गरेका थिए। कृषि, स्वास्थ्य, जलस्रोत, सिँचाइ र विपद् व्यवस्थापनका क्षेत्रमा पूर्वानुमानको उपयोगबारे पनि गम्भीर छलफल भएको थियो।