+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

विदेशबाट लोडसेडिङ भयो भन्दै राति फोन आयो : ऊर्जा मन्त्रीको गुनासो

मन्त्री खड्काको भनाइमा, लोडसेडिङको भ्रम फैलाएर जनतामा अनावश्यक त्रास सिर्जना गर्नु गलत हो। उनले यथार्थपरक सूचना संप्रेषण गर्न सञ्चारमाध्यम र नागरिक समाजसँग आग्रहसमेत गरे।

जनवाच
२ दिन अगाडी

काठमाडौं, जेठ ७। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङबारे भइरहेको प्रचारलाई ‘दुष्प्रचार’ भन्दै गुनासो गरेका छन्। उनले विदेशबाट समेत राति–बिहान फोन गरेर ‘बत्ती गयो’ भन्ने गुनासो सुन्नुपरेको बताए।

बुधवार सिंहदरबारमा आयोजित प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले पटक–पटक एउटै नम्बरबाट रातको १२ बजे फोन आउने, बत्ती गएको भन्दै भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गरे।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले कुनै पनि समय विद्युत् अवरुद्ध हुँदा स्पष्ट कारणसहित जानकारी दिने अभ्यास गरिरहेको जनाउँदै, लोडसेडिङ नभई अन्य प्राविधिक कारणले लाइन काटिन सक्ने स्थिति रहेको बताए।

“उत्पादनको कमीले होइन, मर्मत वा प्राकृतिक कारणले लाइन जाने हो,” उनले प्रस्ट पारे।

मन्त्री खड्काले हाल देखिएको लोडसेडिङको चर्चा सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताए। “असिनापानी, हावाहुरी, पोल ढल्नुजस्ता कारणले हरेक वर्ष सयौं घण्टा लाइन जानु सामान्य हो,” उनले भने, “त्यो लोडसेडिङ होइन।”

उनले नेपालमा विद्युत् उत्पादन बढ्दै गएको उल्लेख गर्दै हाल डेढ सय मेगावाटभन्दा बढी विद्युत् भारतमा निर्यात भइरहेको बताए।

“हिजोसम्म आयात भइरहेको थियो, आज १५० मेगावाट निर्यात भएको छ,” मन्त्री खड्काले बताए, “हामीसँग उब्जेको विद्युत् निर्यात गर्न थालिसकेका छौं।”

त्यसैगरी, हिउँदमा अपुग भएको उद्योगधन्दामा समेत अहिले पर्याप्त आपूर्ति भइरहेको उनले जानकारी दिए।

मन्त्री खड्काले आगामी १० वर्षभित्र देशभित्रै साढे १३ हजार मेगावाटसम्म विद्युत् खपत हुने अनुमान राखिएको भन्दै त्यसअनुसार उत्पादन तथा संरचना निर्माणको तयारी भइरहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ