+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन

आन्तरिक पर्यटनको आकर्सन बन्दै बाग्लुंग

जनवाच
२ दिन अगाडी

बागलुङ, जेठ ७ ।केही वर्षअघिसम्म सीमित पर्यटक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ अब नयाँ पुस्ताको ‘शैक्षिक र अध्यात्मिक खोज यात्रा’ को केन्द्र बन्न थालेको छ। पछिल्ला दिनमा विद्यार्थी, शिक्षक, तथा तीर्थयात्रीहरूको बाक्लो उपस्थिति देखिएपछि बागलुङ अब “शिक्षा र संस्कृतिको संगमस्थल” का रूपमा स्थापित हुँदैछ।

कालिका मन्दिर, पञ्चकोट, बालाजीधाम, शालग्राम सङ्ग्रहालय, नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल, भैरवस्थान मन्दिर, गाईघाट झरना र ढोरपाटन सिकार आरक्ष—यी सबै स्थलहरू अध्ययन र अनुभूतिको साझा थलो बनेका छन्।

कुडुँलेस्थित शालग्राम सङ्ग्रहालयमा गत वर्ष मात्रै एक लाखभन्दा बढी पर्यटक पुगेको स्थानीय अर्जुन सापकोटाले जानकारी दिए। नयाँ वर्ष २०८२ को पहिलो दिन अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक आए। तीमध्ये धेरैजसो विद्यार्थी थिए जसले शालग्रामको ऐतिहासिक र धार्मिक महत्वबारे जान्न चासो देखाए।

विराटनगर, पोखरा लगायतका सहरबाट विद्यार्थीहरू अध्यात्मिक गन्तव्यमा अध्ययन भ्रमणका लागि बागलुङ आउन थालेका छन्। विशेषतः चैते दशैंपछिको समयदेखि विद्यालय र क्याम्पसहरूले धार्मिक–सांस्कृतिक शिक्षालाई आधार मानेर भ्रमण गराउन थालेका छन्।

मुक्तिनाथ तथा मुस्ताङतर्फ जान चाहने पर्यटकहरूका लागि बागलुङ ‘स्टप–ओभर’ गन्तव्य बन्न थालेको छ। यहाँको हरियाली, संस्कृतिक विविधता, र ऐतिहासिक सम्पदाले यात्रुलाई मोहनी लगाएको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन्।

पर्यटकको चापसँगै बागलुङमा होटल व्यवसायले समेत गति लिएको छ। स्थानीय व्यवसायी अर्जुन चोखालका अनुसार शैक्षिक भ्रमण, तीर्थयात्रा र धार्मिक अवलोकनमा आउनेहरूको कारण होटलहरू प्रायः भरिने गरेका छन्।

पर्यटनको नाममा प्राकृतिक सौन्दर्यको खोजी मात्रै नभई अब नेपाली समाजमा आफ्ना मौलिक धार्मिक र सांस्कृतिक स्थलप्रतिको आकर्षण बढ्दै गएको संकेत बागलुङको यो परिवर्तनले दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ