काठमाडौं – व्यवसायिक जीवनमा स्थापित एक महिला जब अन्तर्राष्ट्रिय सौन्दर्य मञ्चमा आत्मविश्वास, ज्ञान र व्यक्तित्वको संयोजनका साथ उत्रिन्छिन्, त्यसले राष्ट्रको परिचय मात्र होइन, नयाँ प्रेरणाको ढोका खोल्दछ। यस्तै प्रेरणाको प्रतिक बनेकी छिन् डा. सुमी मल्ल, जसले थाइल्यान्डको बैंककमा सम्पन्न ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा दुई विशेष उपाधि जितेर नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उच्च बनाएकी छिन्। वरिष्ठ दन्त चिकित्सकको रूपमा परिचित डा. मल्लले उक्त प्रतियोगितामा ‘मिसेस इन्स्पिरेश्नल’ र ‘सेकेन्ड रनरअप’ को उपाधि हात पारिन्। २५ देशका प्रतिस्पर्धीसँग होड गर्दै प्राप्त यो सफलता केवल सौन्दर्यको होड नभई आत्मबल र उद्देश्यपूर्ण उपस्थितिको प्रतिफल हो। ‘मिसेस नेपाल’ भनेर गरिएको सम्बोधन, नेपालको पर्यटनबारे विभिन्न देशका सहभागीहरूले राखेको चासो र ती सबैको उत्तर दिने अवसर—यी सबैले आफूलाई थप गौरवान्वित तुल्याएको उनले पत्रकार सम्मेलनमा भनिन्। “उपाधिको कुरा भन्दा पनि मैले राष्ट्रको पहिचानलाई प्रस्तुत गर्न सकेँ, यही मेरो लागि ठूलो विजय हो,” उनले उल्लेख गरिन्। प्रतियोगिताको आधिकारिक आयोजक संस्था हाउस अफ फेसन नेपाल की संस्थापक निर्देशक ओशिमा बानुले डा. मल्लको समर्पण, आत्मविश्वास र नारीशक्तिको प्रस्तुति अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि ऐतिहासिक बनेको बताइन्। “यो विजय मुकुट मात्र होइन, उहाँको संघर्ष, धैर्यता र सशक्त यात्राको सम्मान हो,” उनले भनिन्। सोही अवसरमा हाउस अफ फेसन नेपालले तेस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२६’ प्रतियोगिता आगामी जनवरीमा आयोजना गरिने घोषणा समेत गर्यो। विवाहित नेपाली महिलाहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा लैजाने उद्देश्यले यो प्रतियोगिता निरन्तरता दिइँदै आएको छ। उपाधिपछि डा. मल्लको सन्देश सिधा र गहिरो छ— “हामी विवाहित महिलाहरू पनि केवल गृहिणी होइनौं, हामी पनि देशको प्रतिनिधित्व गर्न सक्छौं। सौन्दर्य, बुद्धि र आत्मबलको समन्वयले हामी हरेक सीमाना पार गर्न सक्छौं।