तनहुँ, बैशाख २१ ।तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारमा स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखा जिल्ला शहिद लखन गाउँपालिका–८ का २५ वर्षीय बिमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार उनीहरू मुग्लिङबाट आँबुखैरेनीतर्फ गइरहेका थिए। यसै क्रममा मुग्लिङ पुलनजिकै रहेको अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले ना.४० प २६४१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ठूलो मात्रामा नगद फेला पारेको हो।
१४ लाख नगद रकमको कुनै आधिकारिक स्रोत प्रस्तुत गर्न नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।