+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

एआई अपराध नियन्त्रणको चुनौतीसँग जुध्न प्रहरी तयार: आईजीपी थापा”

जनवाच
८ घण्टा अगाडी

काठमाडौं, वैशाख २१ । नेपाल प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (AI) र आधुनिक प्रविधिबाट उब्जिन सक्ने सम्भावित अपराधको सामना गर्न पर्याप्त ज्ञान, सीप र नीतिगत तयारी गरिरहेको दाबी प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गरेका छन्।

नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित Police Leadership and Staff Course (PLSC) – Batch 01 को उद्घाटन समारोहमा बोल्दै आईजीपी थापाले, “यस्ता प्रविधिसँग जुध्न नेतृत्व स्तरको प्रहरीको ज्ञान, निष्ठा र व्यावसायिकता उच्च हुन जरुरी छ,” भने।

उक्त कार्यक्रममा गृहमन्त्री रमेश लेखकले दीप प्रज्वलन गर्दै कार्यक्रमको समुद्घाटन गरेका थिए। गृहमन्त्रीले नेपाल प्रहरीको इतिहास राष्ट्रसेवामा गौरवपूर्ण भएको उल्लेख गर्दै नयाँ प्रशिक्षण कार्यक्रमले प्रहरीलाई अझ सक्षम बनाउने विश्वास व्यक्त गरे।

गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी संगठनले भावी नेतृत्व उत्पादनतर्फ देखाएको सक्रियता सराहनीय भएको बताए। उनले आधुनिक समाजका चुनौतीसँग जुध्न प्रशिक्षित र उत्तरदायी नेतृत्व आवश्यक भएको औंल्याए।

आईजीपी थापाले भने प्रहरी संगठनले प्रविधिको नयाँ युगमा प्रवेश गरिरहेकाले अब नेतृत्व निर्माणलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्नेमा जोड दिए। “एआई र डिजिटल प्रविधिको दुरुपयोगबाट अपराधको स्वरूप परिवर्तन हुँदैछ। त्यसैले प्रहरी नेतृत्व आधुनिक सोच, विश्लेषण क्षमता र नीतिगत समझ राख्ने हुनुपर्छ,” उनले स्पष्ट पारे।

प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक एआईजी सुदिप गिरीले धन्यवाद मन्तव्य राखेका थिए भने प्रा.डा. महानन्द चालिसेले शुभकामना मन्तव्य व्यक्त गरे। कार्यक्रममा एसएसपी वेद विष्टले कोर्सबारे जानकारी प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य एवम् पूर्व आईजीपी ध्रुव बहादुर प्रधान, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, अवकाश प्राप्त प्रहरी अधिकृत, नेपाली सेनाका प्रतिनिधि, प्रहरी अधिकारी, शैक्षिक क्षेत्रका विज्ञ र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ