काठमाडौं, २१ वैशाख। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गैर-जीवन बीमा कम्पनीहरूले कुल ३२ अर्ब १२ करोड ९९ लाख रुपियाँ बीमा शुल्क संकलन गरेका छन्। बीमा बजारमा प्रतिस्पर्धा चर्कँदै जाँदा केही कम्पनी अग्रपंक्तिमा उभिएका छन् भने लघु बीमा कम्पनीहरूले पनि क्रमशः बजारमा आफ्नो उपस्थिति देखाउन थालेका छन्। नेपाल बीमा प्राधिकरण द्वारा सार्वजनिक गरिएको तथ्यांक अनुसार, गैर-जीवन बीमा क्षेत्रको नेतृत्व शिखर इन्स्योरेन्स ले लिएको छ। कम्पनीले यो अवधिमा ४ अर्ब ३४ करोड रुपियाँ बीमा शुल्क संकलन गर्दै सबैभन्दा अगाडि देखिएको छ। त्यसैगरी, दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स रहँदै ३ अर्ब ७३ करोड रुपियाँ, र तेस्रो स्थानमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स ले ३ अर्ब १० करोड रुपियाँ बीमा शुल्क संकलन गरेको छ। हाल मुलुकमा १४ गैर-जीवन बीमा कम्पनी सक्रिय छन्। यी कम्पनीहरू बीचमा सेवाको दायरा, ग्राहक सन्तुष्टि र डिजिटल पहुँचका आधारमा प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। यसैबीच, चार लघु निर्जीवन बीमा कम्पनीहरूले पनि चैत मसान्तसम्म उल्लेख्य उपस्थिति जनाएका छन्। तीमध्ये नेपाल माइक्रो इन्स्योरेन्स अगाडि देखिएको छ, जसले १९ करोड ३६ लाख रुपियाँ बीमा शुल्क संकलन गरेको छ। अन्य लघु बीमा कम्पनीहरूमध्ये, प्रोएक्टिभ माइक्रो: १७ करोड ५७ लाख स्टार माइक्रो: १६ करोड ३२ लाख ट्रस्ट माइक्रो: १५ करोड ४० लाख बीमा प्राधिकरणका अनुसार, लघु बीमा कम्पनीहरूले दुर्गम क्षेत्रका नागरिकमा पहुँच विस्तार गर्दै वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।