+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

श्रममार्फत समृद्धिको बाटो खुल्दैछ : श्रम संसार पोर्टल सार्वजनिक गर्दै प्रधानमन्त्री ओली

श्रम संसार पोर्टलबाट अब रोजगार माग, आपूर्ति, नियमन, श्रमिक अभिलेख, सीपमूल्याङ्कनजस्ता कार्यहरू एकीकृत रूपमा डिजिटल माध्यमबाट सहज रूपमा सञ्चालनमा आउनेछ भन्ने सरकारको दाबी छ।

जनवाच
१५ घण्टा अगाडी

काठमाडौँ, वैशाख १८ — प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमलाई राष्ट्र समृद्धिको मूल आधारको रूपमा स्थापित गर्दै श्रम र रोजगार सेवाको पहुँच जनताको घरदैलोमै पुर्‍याउने नीति स्पष्ट गरेका छन्। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘श्रम संसार’ पोर्टल सार्वजनिक गर्दै श्रमिक हितका योजनाहरूलाई प्रविधिमार्फत प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले वैदेशिक रोजगारसँग जोडिएका समस्याहरू नियन्त्रण गर्न राज्यले आन्तरिक रोजगारी प्रवर्द्धनमा ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै भने, “श्रम बजार विकास गर्न तालिम, उद्यमशीलता र सहुलियतपूर्ण कर्जाजस्ता सेवाहरू आम जनतासम्म पुर्‍याइनुपर्छ।”

प्रधानमन्त्रीले श्रम संसार पोर्टललाई छिट्टै नागरिक एपसँग जोड्ने घोषणा गर्दै प्रविधिको प्रयोगबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी सबै सेवामा सहज पहुँच सुनिश्चित गरिने उल्लेख गरे। यसले श्रमिक, रोजगारदाता र सेवा प्रदायकबीचको दुरी हटाउने र प्रणालीलाई फेसलेस, प्रोसेसलेस र म्यानुपुलेसनलेस बनाउने उनले स्पष्ट पारे।

ओलीले भने, “डिजिटल अर्थतन्त्र, सूचना प्रविधिमा आधारित समाज निर्माण र सीपयुक्त श्रमिकको उत्पादनमार्फत मात्र समृद्ध नेपाल सम्भव छ।”

सरकारले आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’ घोषणा गर्न लागिरहेको उल्लेख गर्दै, प्रधानमन्त्रीले समान रोजगार अवसर, सीपको विस्तार र नीति निर्माणमा सूचना विश्लेषणको प्रयोग जस्ता उपायलाई श्रम क्षेत्र सुधारको मूल मन्त्रका रूपमा अघि सारे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ