काठमाडौं, वैशाख २ – हाडजोर्नी, नशा र मांसपेशीसम्बन्धी समस्यालाई कहिले उमेरको असर ठानिन्छ, त कहिले शारीरिक श्रमको परिणाम। तर पछिल्ला तथ्यांकले देखाउँछ– यस्ता समस्याको मुख्य कारण बदलिँदो जीवनशैली र असन्तुलित खानपान नै हो।
सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, वडा नं. २२ द्वारा आयोजित ३ दिने निःशुल्क फिजियोथेरापी शिविर यही यथार्थ पुष्टि गर्ने आधार बन्यो। शिविरमा सहभागी ३१० जना बिरामीमध्ये धेरैजसो युवा र प्रौढ उमेरका थिए, जसले हाड खिइनु, नशा च्यापिनु, ढाड-कम्मर दुख्नुजस्ता समस्या बोकेका थिए।
जनस्वास्थ्य निरीक्षक सुजन भण्डारीका अनुसार, हाडजोर्नीसम्बन्धी गम्भीर अवस्थाका ९ जना बिरामीलाई अस्पताल रिफर गरिएको छ भने २८० जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको थियो।
उहाँ भन्छन्, “हिजोआज यी समस्या केवल वृद्ध उमेरमा मात्र सीमित छैनन्। फास्टफूड, शारीरिक निष्क्रियता र लामो समयसम्म एउटै मुद्रामा बस्ने बानीका कारण युवा पुस्तासमेत बढी प्रभावित देखिन्छ।”
सहरभित्र यस्ता समस्याको वृद्धि भएकाले महानगरपालिकाका प्रवर्धन केन्द्रहरूबाट नियमित रूपमा निःशुल्क फिजियोथेरापी सेवा दिइँदै आएको छ। सहरी स्वास्थ्य केन्द्रहरूमा दैनिक औसत २० जनासम्म बिरामी सेवा लिने गरेका छन्।