काठमाडौं, चैत २६ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले देशमा शासन सत्ता नभएर प्रतिशोधको हतियार जस्तो बन्दै गएको गम्भीर आरोप लगाएका छन्। मंगलबार बल्खुमा आयोजित विरोध सभामा उनले पार्टीका वरिष्ठ नेता धवल शमशेर राणा र रविन्द्र मिश्रमाथि सरकारद्वारा २५ वर्षसम्मको जेल सजायको सम्भावनासहितको मुद्दा लगाइएको खुलासा गर्दै तीव्र आक्रोश व्यक्त गरे। लोहनीले स्पष्ट शब्दमा भने, “चैत १५ गते सरकारले राप्रपाका महामन्त्री र उपाध्यक्षलाई समाएर राज्यको स्रोतको दुरुपयोग गरेको आरोपमा लामो समयसम्म जेल हाल्ने खालको मुद्दा दर्ता गरेको छ। यो सरकारले के सोचिरहेको हो? देश कसैको जागिर वा बिर्ता हो र?” उनले थपे, “यो पीडाको आवाज हो, आक्रोश होइन। हामी सिधा कुरा गर्छौं—यदि उहाँहरुलाई नछोडिने हो भने हामी पनि छाड्ने छैनौं।” पूर्व अर्थमन्त्री लोहनीले अहिलेको सत्तालाई ‘रावण शासन’ जस्तो अराजक र जनउपेक्षात्मक प्रणाली भन्दै व्याख्या गरे। “सरकार जुन हिसाबले आलोचकको मुख थुन्न खोजिरहेको छ, त्यो गणतन्त्रको मूल्य र मान्यताविपरीत हो,” उनले चेतावनी दिए। लोहनीले आफ्नो सम्बोधनमा सरकारप्रति बोल्ने जो-कोहीलाई दण्डित गर्ने प्रवृत्ति मौलाएको उल्लेख गर्दै यस्तो चेतावनी दिए, “बोल्यो भने सिध्याउने हो भने यो सरकार लोकतान्त्रिक हो कि निरंकुश?” अन्त्यमा उनले वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पार्ने काम गरिरहेको दाबी गर्दै भने, “आज विश्वले हेरिरहेको छ—नेपालमा राजनीतिक असहिष्णुता बढेको छ। यो राष्ट्रिय अस्मिताको लागि खतरनाक संकेत हो।”