काठमाडौं – नेपालका पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्मनीको बर्लिनमा आयोजित विश्वकै प्रतिष्ठित पर्यटन मेला ‘इन्टरनेशनल टुरिजम बोर्स (आईटीबी) बर्लिन २०२५’ मा ‘टुरिजम मिनिस्टर अफ दी एयर’ अवार्ड प्राप्त गरेका छन्।
यो सम्मान पर्यटन नीति सुधार, नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने रणनीतिक योजना र पर्यटन विकासमा उल्लेखनीय योगदान दिएको भन्दै मन्त्री पाण्डेलाई प्रदान गरिएको हो।
विश्वभरका ५ हजारभन्दा बढी पर्यटन स्टल तथा सयौं सरकारी–गैरसरकारी प्रतिनिधिहरूको उपस्थिति रहेको ‘वल्र्ड टुरिजम एण्ड एभिएसन समिट २०२५’ मा मन्त्री पाण्डेलाई हिमालय क्षेत्रबाट उत्कृष्ट पर्यटनमन्त्री घोषित गर्दै अवार्ड प्रदान गरिएको हो।
नेपालका कुनै पनि पर्यटनमन्त्रीले यसअघि यस्तो सम्मान प्राप्त नगरेकाले यो पुरस्कार नेपालकै पर्यटन इतिहासमा महत्वपूर्ण उपलब्धि भएको छ।
बर्लिनमा आयोजित कार्यक्रममा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले मन्त्री पाण्डेलाई सम्मानित गरेको हो। छोटो अवधिमा पर्यटन नीतिमा सुधार, कानुनी संरचनामा दृढता, समावेशी पर्यटनको प्रवद्र्धन र नेपाल सरकारको उत्कृष्ट कार्यसम्पादनको आधारमा उहाँलाई यो अवार्ड प्रदान गरिएको हो।
सन् १९९९ देखि आईटीबी बर्लिनमा प्रदान गरिँदै आएको यो अवार्ड विश्वका उत्कृष्ट पर्यटनमन्त्रीहरूलाई मात्र प्रदान गरिन्छ।
अवार्ड ग्रहण गर्दै मन्त्री पाण्डेले यो सम्मान आफ्नो व्यक्तिगत मात्र नभई सम्पूर्ण नेपाली पर्यटन क्षेत्रकै सफलता भएको बताउनुभयो।
“यो पुरस्कार नेपालका लागि अन्तर्राष्ट्रिय स्वीकृति र हौसला हो। नवप्रवर्तन, सामुदायिक सहभागिता र हरित पर्यटनलाई प्रवद्र्धन गर्दै हामी पर्यटन क्षेत्रलाई अझ सुदृढ बनाउनेछौं।” – मन्त्री पाण्डे
मन्त्री पाण्डेले प्रविधि र नवप्रवर्तनको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न आर्टिफिसियल इन्टेलिजेन्स (AI) को उपयोग बढाउनुपर्नेमा जोड दिनुभयो। साथै,
- पर्यटनलाई वातावरणमैत्री बनाउने,
- उत्तरदायी ट्रेकिङलाई प्रवद्र्धन गर्ने,
- संस्कृतिक सम्पदाको संरक्षण गर्ने,
- कम चिनिएका गन्तव्यहरूलाई प्रवद्र्धन गर्दै पर्यटन लाभ समान रूपमा वितरण गर्ने रणनीति प्रस्तुत गर्नुभयो।
आईटीबी मिनिस्टर्स समिट २०२५ मा मन्त्री पाण्डेले ‘लगानी वृद्धि, शान्ति सुनिश्चितता, र भविष्य निर्माण’ विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्दै नेपालमा पर्यटनको सम्भावना र दिगोपनको खाका कोर्नुभएको थियो।
यो अन्तर्राष्ट्रिय सम्मानसँगै नेपाल पर्यटन प्रवद्र्धनको नयाँ उचाइमा पुगेको पर्यटन व्यवसायीहरूको भनाइ छ। “यो अवार्ड नेपालको पर्यटन क्षेत्रको विश्वव्यापी मान्यता र सम्भावनाको प्रमाण हो,” उनीहरूले प्रतिक्रिया दिएका छन्।