विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ रिजालको एफएले रोमाञ्चक जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद रंगशालामा सोमबार भएको खेलमा मोरङले भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्यो ।
खेलको १०औं मिनेटमा मोरङका अभिषेक गुरुङले गोल गर्दै आयोजकलाई अग्रता दिलाए । तर, १३औं मिनेटमा कोलकाताका सुदीप्ता हाल्देनले फ्रिकिकमार्फत बराबरी गोल फर्काए । ३४औं मिनेटमा कोलकाताका अनिमेषले हेडर गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।
तर, पहिलो हाफको इन्जुरी समयमा मोरङका दोर्जे तामाङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । खेलको अन्तिम समयसम्म दुवै टोलीले जितका लागि संघर्ष गरे पनि ८९औं मिनेटमा मोरङका मौसम लिम्बूले निर्णायक गोल गर्दै आयोजक टोलीलाई जित दिलाए ।
मोरङका मौसम लिम्बू खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । मंगलबारको खेलमा सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) आमनेसामने हुनेछन् ।