१६ असार, काठमाडौं – रौतहटको चर्चित चाँदनी खातुन हत्या प्रकरणमा तीन वर्षदेखि फरार रहेका अभियुक्त फैयाद मिया मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ। २०७८ माघ २६ गते आफ्नी श्रीमती चाँदनी खातुनको हत्या गरेर फरार भएका मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले लामो अनुसन्धानपछि पक्राउ गरेको हो। इशनाथ नगरपालिका–४, घिउरा टोल निवासी मन्सुरीले गहुँ खेतमा सलले घाँटी बेरेर र मुख थुनेर चाँदनीको हत्या गरेको अभियोग लागिएको छ। घटनापछि उनी फरार रहदै आएका थिए। प्रहरीका अनुसार मृतक चाँदनीको शव भेटिएको तरिका, घटनास्थलका प्रमाण र प्रमाणित प्रत्यक्षदर्शी बयानको आधारमा मन्सुरीमाथि आरोप पुष्टि हुँदै आएको थियो। उनीलाई हाल कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।