१६ असार, काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को कार्यकारिणी समितिमा तीन जना अनुभवी व्यवसायीहरू राजकुमार न्यौपाने, सरस्वती राई, र कमल कुमार श्रेष्ठ मनोनित भएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधानको दफा २९ को उपदफा २९.२ (च) बमोजिम तीनै जनालाई कार्यकारिणी सदस्यमा मनोनयन गरेका हुन्। तीनै व्यवसायी आ–आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै विगतदेखि नै महासंघसगको सशक्त सम्बन्धमा क्रियाशील छन्। राजकुमार न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्। कमल कुमार श्रेष्ठ पनि महासंघको पूर्व कार्यकारिणी सदस्य तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रहनु भएको छ। सरस्वती राई नेपाल हर्ब्स एण्ड हर्बल उत्पादक संघकी अध्यक्ष तथा महासंघको महिला उद्यमी विकास समितिकी उपसभापति हुन्। महासंघद्वारा जारी विज्ञप्तिमा अध्यक्ष ढकालले नयाँ मनोनयनले महासंघको नीति, कार्यक्रम र निजी क्षेत्रको समग्र सशक्तिकरणमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। उनले मनोनित सदस्यहरूको अनुभव र प्रतिबद्धता महासंघलाई अझ प्रभावकारी र गतिशील बनाउन महत्वपूर्ण हुने जनाएका छन्। उद्योग वाणिज्य क्षेत्रका बहुपक्षीय प्रतिनिधित्वलाई ध्यान दिँदै गरिएको यो मनोनयनले निजी क्षेत्रको आवाजलाई अझ व्यापक र समावेशी बनाउने अपेक्षा गरिएको छ।