१० जेठ, काठमाडौं —भिजिट भिसा मार्फत मानव तस्करीमा संलग्नताका आरोप चुलिंदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकलाई नै राजीनामा दिन सुझाव दिएको छ। शनिबार भर्चुअल माध्यमबाट बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकपछि कार्यबाहक प्रवक्ता मनीष झाले गृहमन्त्री लेखकको नै विगतको अभिव्यक्तिको स्मरण गराउँदै पदत्यागको माग गरेका हुन्। झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, विगतमा सांसद लेखकले नै सदनमा प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने धारणा राख्नुभएको थियो, आज त्यही मापदण्ड आफूमा पनि लागू गर्नु न्यायोचित हुनेछ।” रास्वपाको विज्ञप्तीले गृहमन्त्री तथा उनको सचिवालय नै भिजिट भिसाका नाममा मानव तस्करीमा संलग्न भएको गम्भीर शंका रहेको भन्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि राजीनामा अपरिहार्य भएको बताएको छ। यता गृह मन्त्रालयले भने त्यसैदिन एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री लेखकको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। “अख्तियार तथा सम्बन्धित निकायबाट हुने अनुसन्धानमा पूर्ण सहयोग गर्ने” प्रतिबद्धता समेत मन्त्रालयले व्यक्त गरेको छ। गृहमन्त्री लेखकले पनि यसअघि सार्वजनिक अभिव्यक्तिमा आफू “गलत काम भएको दिन राजनीतिमा देखा नपर्ने” प्रतिबद्धता जाहेर गरेका थिए। तर, घटनामा सचिवालयको संलग्नताको रिपोर्ट सार्वजनिक भएपछि प्रश्न गम्भीर बनेको छ।