काठमाडौं, जेठ ९ —आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक हुने समय नजिकिंदै जाँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल सक्रिय परामर्श प्रक्रियामा जुट्नुभएको छ। आज अर्थ मन्त्रालयमा आयोजित विशेष बैठकमा उहाँले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग रणनीतिक परामर्श गर्नुभएको हो।
बजेट निर्माणको पूर्व तयारीस्वरूप भएको उक्त छलफलमा राजस्व परिचालन, पूँजीगत खर्चको प्रभावकारी कार्यान्वयन, लगानी मैत्री वातावरण निर्माण र आर्थिक स्थायित्व कायम गर्नुपर्ने आवश्यकता जस्ता विषयमा गहन छलफल गरिएको स्रोतले जनाएको छ।
अर्थमन्त्री पौडेलले हालको आर्थिक अवस्थालाई ‘संक्रमणकालीन चुनौती र अवसरको संगम’ भनी परिभाषित गर्दै, राजनीतिक स्थायित्वसँगै आर्थिक समन्वय झनै महत्वपूर्ण भएको बताउनुभयो। उहाँले भन्नुभयो, “नीतिगत स्पष्टता र कार्यान्वयनको गती बढाउन योजना आयोग र राष्ट्र बैंकबीचको तालमेल अनिवार्य छ।”
यस अवसरमा राष्ट्र बैंकका गभर्नर डा. पौडेलले मौद्रिक नीतिको लचिलो कार्यान्वयन, बजारमा तरलता व्यवस्थापन र वित्तीय अनुशासनका पक्षमा राष्ट्र बैंकको भूमिकाबारे प्रष्ट पार्नुभयो। त्यस्तै, योजना आयोगका उपाध्यक्ष प्रा.डा. अधिकारीले दीर्घकालीन आर्थिक योजना, आयोजना प्राथमिकता र खर्चको प्रभावकारिता सुनिश्चित गर्न बजेट संरचना सुधार गर्नुपर्ने धारणा राख्नुभयो।