काठमाडौं, ९ जेठ —लुम्बिनीलाई ध्यान, कल्याण र अध्यात्मको अन्तर्राष्ट्रिय केन्द्र बनाउने कल्पना साकार पार्न राज्य र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य देखिन्छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लुम्बिनीलाई केवल बौद्ध गन्तव्य नभई स्वास्थ्य, ध्यान र सांस्कृतिक पर्यटनको ‘हब’ का रूपमा विकास गर्न सकिने स्पष्ट सन्देश दिएका छन्। काठमाडौंमा सुरु भएको तेस्रो बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट (BITM) को उद्घाटन समारोहमा बोल्दै ढकालले पूर्वाधार, कनेक्टिभिटी र रणनीतिक योजना अभावले नेपालको पर्यटन सम्भावना अझै पनि अधुरो रहेको उल्लेख गरे। “हामी लुम्बिनीलाई केवल अवलोकनको ठाउँ होइन, अनुभवको केन्द्र बनाउन सक्छौं,” अध्यक्ष ढकालले भन्नुभयो, “ध्यान, योग, शान्ति र आन्तरिक खोजको लागि लुम्बिनी जस्तै उपयुक्त गन्तव्य कमै छन्।” उनले स्वास्थ्य पर्यटन र आध्यात्मिक पर्यटनको संयोजनमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको बसाई लम्ब्याउन सकिनेमा विश्वास व्यक्त गरे। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अपूर्ण सञ्चालनले निजी क्षेत्रको ठूलो लगानी संकटमा परेकोप्रति अध्यक्ष ढकालले चिन्ता व्यक्त गरे। “बुद्धको जन्मस्थल नजिकै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण त भयो, तर सञ्चालन नहुँदा लगानीकर्ताले घाटा व्यहोर्नुपरेको छ,” उनले भने। भारत र चीनमा रहेका विशाल बौद्ध अनुयायी समुदायलाई लक्षित गर्दै अध्यक्ष ढकालले क्षेत्रीय ‘बौद्ध सर्किट’ निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। “हामीले लुम्बिनीलाई भारतको कुशीनगर, सारनाथ लगायत तीर्थस्थलसँग जोडेर साझा सर्किट विकास गर्नुपर्छ,” उहाँको भनाइ थियो। नेपालको हवाई टिकट महँगो हुनुको मुख्य कारण सरकारद्वारा लिइएको मूल्य अभिवृद्धि कर (VAT) रहेको अध्यक्ष ढकालको ठम्याइ छ। “टिकटमा VAT हटाउने वा समायोजन नगरेसम्म नेपाल सस्तो गन्तव्य बन्न सक्दैन,” उनले तर्क गरे। विशेषतः भारतीय पर्यटकहरूलाई लक्षित गर्दै ढकालले अब मध्यम वर्गमा प्रवेश गरिसकेका १५ करोड भारतीयहरूलाई नेपाल प्रवेश गर्दा बढी विदेशी मुद्रा ल्याउन छुट दिनु पर्ने सुझाव दिए। “२५ हजार भारतीय रुपैयाँको सीमा अब उपयुक्त छैन। अरू देशका पर्यटकले ५ हजार डलरसम्म ल्याउन पाउने भएजस्तै भारतका पर्यटकलाई पनि त्यही व्यवस्था गर्नुपर्छ,” उनले भने। नेपालको बहु–आयामिक पर्यटन सम्भावनालाई प्रयोग गर्न अब निजी र सरकारी क्षेत्रबीचको सहकार्य अनिवार्य भएको बताउँदै अध्यक्ष ढकालले विदेशी लगानीकर्तालाई पनि नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न खुला निम्तो दिए।