काठमाडौँ – नेता होइन, ज्योतिषीको भविष्यवाणीले राजनीति निर्देश गर्ने चलनप्रति प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तीव्र आलोचना गर्दै युवालाई प्रतिगमनविरुद्ध सतर्क रहन आह्वान गरेका छन्। राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले जनताको अधिकार, स्वाधीनता र गणतन्त्रको रक्षामा एमाले सधैं अग्रपंक्तिमा रहने दाबी गरे। पूर्व उपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डलीको आधारमा राजतन्त्र फर्कने भविष्यवाणी गरेकोप्रति व्यंग्य गर्दै ओलीले भने, “पूर्वराजाको कुण्डली हेरेर मात्रै हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ।” उनले व्यक्तिगत ज्योतिषीय दाबीहरूलाई राज्य व्यवस्था परिवर्तनको आधार नबनाउन चेतावनी दिए। प्रधानमन्त्री ओलीले प्रतिगमनका हल्लाहरूलाई “धुलो पिठो बनाइन्छ” भन्ने शब्दमा खारेज गरे। उनले विशेषगरी युवालाई सचेत रहन र आवश्यकता परे अग्रसर भएर त्यस्ता गतिविधिलाई रोकिनुपर्नेमा जोड दिए। “युवा संघ अगाडि आउनुपर्छ,” ओलीले स्पष्ट रूपमा भने। राजनीतिक अस्थिरताको मूलमा अनुभवविहीन व्यक्तिहरूको संलग्नता रहेको टिप्पणी गर्दै उनले कांग्रेससँगको सहकार्यद्वारा मुलुकलाई स्थायित्व दिने प्रयास भइरहेको बताए। “अहिले सरकारमा एमाले र कांग्रेस सँगसँगै छौँ, १४ महिनापछि म राजीनामा गरेर देउवालाई सत्ता सुम्पिन्छु,” भनी उनले सरकारको योजनाबद्ध भविष्यको खाका पनि प्रस्तुत गरे। प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा कुनै अनुहार नहेरी कठोर कारबाही गर्ने सरकारको नीति स्पष्ट गरे। “शून्य सहनशीलताका साथ अगाडि बढिरहेका छौं,” भन्दै उनले सरकारको शुद्धिकरण अभियानमा संलग्नताको आश्वासन दिए। कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, संयोजक भानुभक्त ढकाल, नेताहरू महेश बस्नेत, राजीव पहारी, निरुदेवी पाल, किरण पौडेल लगायतको उपस्थिति रहेको थियो ।