काठमाडौं—सर्वसाधारणको पहुँचमा गुणस्तरीय बैंकिङ सेवा पुर्याउने अभियानमा रहेको एभरेस्ट बैंकले आफ्नो १३२औँ शाखा सिन्धुलीको कमलामाई नगरपालिका–६ मा विस्तार गरेको छ। यससँगै बागमती प्रदेशभर बैंकका शाखा संख्या ४७ पुगेका छन्।
नयाँ शाखाको उद्घाटन कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंक सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा गरे। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, उद्योगी, व्यवसायी, बैंकका उच्च अधिकारी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।
मेयर पोखरेलले बैंकको आगमनले स्थानीयवासीलाई वित्तीय पहुँचमा सहजता ल्याउने विश्वास व्यक्त गरे। उनले बैंकबाट लघुवित्त, कृषि, व्यवसाय र पूर्वाधार क्षेत्रमा सन्तुलित लगानी भई स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थपिने उल्लेख गरे।
बैंक सञ्चालक अध्यक्ष वैद्यले एभरेस्ट बैंकले आधुनिक प्रविधियुक्त, सुरक्षित र ग्राहकमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याए। बैंकले डिजिटल बैंकिङ, एटीएम, मोबाइल बैंकिङ, लोन तथा अन्य वित्तीय सेवाहरू यस शाखाबाट पनि प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ।