+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

अब सडक कालो होइन सेतो बनाऔं — मन्त्री भण्डारी

जनवाच
३ घण्टा अगाडी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको पूर्वाधार विकासलाई दिगो, भरपर्दो र वातावरणमैत्री बनाउने लक्ष्यसहित अब कालोपत्रे सडकको सट्टा सेतो पत्रे (कंक्रीट) सडकमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।

नेपाल सिमेन्ट उत्पादक संघद्वारा आयोजित “सिमेन्ट कन्क्लेभ–२०८२” मा बोल्दै मन्त्री भण्डारीले सिमेन्ट र छड प्रयोग गरेर बनाइने सेतो सडकहरू लामो समय टिक्ने भएकाले त्यसतर्फ सरकारी तथा निजी क्षेत्र दुवैको ध्यान जान जरुरी रहेको बताए।

“हामी सिमेन्टमा आत्मनिर्भर भएका छौं, बालुवा र गिट्टी हाम्रै वरिपरि प्रशस्त छन्,” मन्त्री भण्डारीले भने, “अब हामीले विकास निर्माणमा आयातितभन्दा स्वदेशी स्रोतहरूमा भर पर्ने अभ्यास बढाउनु आवश्यक छ।”

उहाँले सडकहरू अल्पकालमै बिग्रने र मर्मतमा दोहोरो खर्च भइरहेका कारण अब ‘सेतो पत्रे’ लाई प्राथमिकता दिनुपर्ने स्पष्ट पारे।

मन्त्री भण्डारीका अनुसार अहिले विश्वका विकसित मुलुकहरूले पनि कालोपत्रे सडक विस्थापन गरेर कंक्रीट सडक (सेतो पत्रे) तर्फ सरेका छन्।
नेपालजस्तो भौगोलिक चुनौतीपूर्ण देशका लागि टिकाउ, लागत-प्रभावकारी र वातावरणमैत्री विकल्प आवश्यक भएकाले कंक्रीट सडक उपयुक्त हुने उहाँको धारणा थियो।

कार्यक्रममा मन्त्री भण्डारीले उद्योग सञ्चालकहरूलाई पनि वातावरणीय जिम्मेवारीप्रति सचेत रहनु पर्ने उल्लेख गर्दै भने, “विकास निर्माणमा पर्यावरणीय प्रभावको अध्ययन र समाधान अब व्यवसायिक आचारसंहिताको एक अभिन्न हिस्सा हुनुपर्छ।”

मन्त्री भण्डारीले नेपालको आयात–निर्यात सन्तुलनमा सुधार ल्याउन स्वदेशी उत्पादनको गुणस्तर र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए।
उहाँले भने, “जसरी विदेशी उत्पादन नेपाल भित्रिन्छ, त्यसरी नै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने प्रयास सरकारले साथ दिएर अघि बढाउनु पर्छ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ