काठमाडौं — गणतन्त्र स्थापना भएको १७ वर्ष पुगेको सन्दर्भमा सरकारले यस वर्षको गणतन्त्र दिवस २०८२ लाई तीनदिने विशेष उत्सवको रूपमा मनाउने निर्णय गरेको छ। तर, यस्तो निर्णय लिने मूल समारोह समितिको बैठकबाट काठमाडौं महानगरका मेयर बालेन साह भने अनुपस्थित रहे। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको मूल समारोह समिति बैठकले जेठ १४, १५ र १६ गते देशभर दीप प्रज्वलनसहित गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो। यस वर्षको दिवसलाई जनस्तरसम्म पुर्याउने उद्देश्यसहित केन्द्र, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम गरिनेछ। बैठकले विदेशस्थित नेपाली दूतावासहरूमा समेत कार्यक्रम गर्न निर्देशन दिएको छ। मुख्य समारोह भने जेठ १५ गते टुँडिखेलको सैनिक मञ्चमा हुनेछ, जसमा उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहनेछ। बैठकमा उपप्रधानमन्त्री, विभिन्न मन्त्रालयका मन्त्री तथा सुरक्षासंस्थाका प्रमुखहरु सहभागी भए पनि पदेन सदस्यको रूपमा रहने काठमाडौँ महानगर प्रमुख बालेन साह भने उपस्थित रहेनन्।प्रधानमन्त्री ओलीले यस्ता मूल समारोहमा पदेन सहभागीहरूको बारम्बार अनुपस्थित रहने प्रवृत्तिको अन्त्य गर्न निर्देशनसमेत दिएका छन्। प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई केवल औपचारिकताको घेरामा राख्नु हँुदैन भन्दै स्थानीय तह, निजी क्षेत्र, संघ–संस्था र सर्वसाधारण सबैलाई सहभागी गराउँदै गणतन्त्रको मूल्य र मर्म जनतामाझ पुर्याउनुपर्ने धारणा व्यक्त गरे।