+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

एनआरएनए विवादमा प्रधानमन्त्री ओलीको चासो : संस्था व्यक्तिको होइन, विधिको होस्

जनवाच
९ घण्टा अगाडी

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्रआवसीय नेपाली संघ (एनआरएनए) भित्रको बढ्दो विवादप्रति चासो व्यक्त गर्दै संस्थालाई एकताबद्ध, मर्यादित र विधिनिष्ठ बनाउन आह्वान गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनए जस्तो अन्तर्राष्ट्रिय नेपाली समुदायको साझा संस्थामा व्यक्तिवादी स्वार्थ र सत्ताकै लालसाले संस्थाको गरिमा ओझेलमा पर्न नदिन चेतावनी दिए।

‘विधान भन्दा व्यक्तिको प्राथमिकता हुने, महाधिवेशनमा हानाहान हुने, स्वार्थका लागि विधि मिच्ने हो भने यस्तो साझा संस्था बर्बादीको दिशातर्फ जान्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एनआरएनए कुनै दलको संगठन होइन, न त व्यक्तिगत गुटको अखडा। यो सबै नेपालीको साझा चिन्ह हो।’

प्रधानमन्त्रीले नेपाली डायस्पोराको समृद्धि, एकता र संस्कृतिको संरक्षण गर्न गठन भएको संस्थामा दलीय राजनीति र गुटबन्दी घुस्न थालेको संकेत गर्दै यो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।

‘संविधान र लोकतान्त्रिक प्रक्रिया अनुसार संस्थाले महाधिवेशन गरी वैधानिक नेतृत्व हस्तान्तरण गर्नुपर्छ,’ भन्दै उनले वर्तमान अध्यक्ष डा. बद्री केसीको कार्यकाल विधिसम्मत रहेको पुनः पुष्टि गरे।

प्रधानमन्त्री ओलीले एनआरएनसम्बन्धी कानुनमा सुधार आवश्यक भए सरकार तयार रहेको उल्लेख गर्दै आवश्यक सुझाव र सल्लाहका आधारमा कार्य गर्न सरकार प्रतिवद्ध रहेको बताए।

यसैबीच कन्क्लेभमा सहभागी भएका विभिन्न देशका प्रतिनिधिहरूले पनि एनआरएनएमा संस्थागत सुधार र पारदर्शिता कायम राख्न आवश्यक भएको धारणा राखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ