काठमाडौं — नेपाल सरकार र विश्व बैंकबीच आगामी आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गरिएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसियाली उपाध्यक्ष मार्टिन राइजरबीच बुधबार अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो।
भेटमा दुवै पक्षले नेपालमा भौतिक पूर्वाधार, ऊर्जा, शिक्षा, वित्तीय पहुँच, तथा जलवायु अनुकूलन जस्ता क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा सकारात्मक सोच र प्रतिबद्धता व्यक्त गरेका छन्।
विश्व बैंकले पछिल्लो समय नेपालमा लगानीको प्रभावकारिता, अनुदान प्रवाहको पारदर्शिता र दिगो विकासका परियोजनाहरूमा विशेष ध्यान दिँदै आएको छ। भेटमा यी सबै विषय समेटिएको मन्त्रालय स्रोतले जनाएको छ।