+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रबिधी

डिजिटल श्रम सेवा प्रणालीमा तीव्रता ल्याउन श्रममन्त्रीको निर्देशन : स्थानीय तहमै सेवा विस्तारको तयारी

जनवाच
४ घण्टा अगाडी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम तथा रोजगारसम्बन्धी सम्पूर्ण सेवा प्रणालीलाई डिजिटल प्रविधिमा आधारित बनाएर प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

आधुनिक सूचना प्रविधिको प्रयोगमार्फत श्रम बजार व्यवस्थित गर्नुपर्ने आवश्यकतालाई औंल्याउँदै मन्त्री भण्डारीले मन्त्रालयअन्तर्गतका सबै डिजिटल प्रणालीको तत्काल स्तरोन्नति गर्न आदेश दिएका हुन्।

उनले श्रम संसार पोर्टलमार्फत वैदेशिक रोजगार, सीप विकास, सामाजिक सुरक्षा, श्रमिक अधिकारलगायतका सम्पूर्ण सेवा विवरण एकीकृत गर्दै स्थानीय तहसम्म सेवा पु¥याउने कार्य तत्काल अघि बढाउन निर्देशन दिएका हुन्। मन्त्रीको भनाइमा, “डिजिटल प्रणालीलाई एकीकृत गर्दै जनताले सजिलै सेवा प्राप्त गर्ने वातावरण बनाउन ढिलाइ अब सह्य छैन।”

छलफल कार्यक्रममा मन्त्री भण्डारीले आन्तरिक रोजगार व्यवस्थापन महाशाखालाई डिजिटलाइजेसन कार्यको नेतृत्व लिन भनेका छन्। साथै, उनले फोकल पर्सन तोकी कार्ययोजना र समयसीमा अनुसार सेवा सुधार अघि बढाउन निर्देशनसमेत दिए।

गाउँगाउँमा सक्रिय वैदेशिक रोजगारका दलाल र विचौलियालाई नियन्त्रण गर्न रोजगार सेवा केन्द्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री भण्डारीले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड, सीप प्रतिष्ठान लगायतका सेवा अब केन्द्रमार्फतै एकीकृत ढंगले संचालन गरिने जानकारी दिए।

छलफल कार्यक्रममा श्रम मन्त्रालयका अधिकारीहरूका साथै प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि विज्ञ असगर अली, श्रममन्त्रीका सल्लाहकार युवराज बस्नेत, स्वीस कन्ट्याक्ट, विश्व बैंक, सामी तथा रेमी आयोजना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ