काठमाडौं, १२ वैशाख —शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक आन्दोलन समाधानका लागि बार्ताको ढोका खुला रहेको बताएका छन्। बार्ताको वातावरण निर्माण गर्न शिक्षक महासंघलाई आधिकारिक टोली पठाउन आग्रह गर्दै मन्त्री पन्तले सरकार तत्काल संवादमा बस्न तयार रहेको जनाएका छन्। “शिक्षक महासंघले आफ्नो आधिकारिक बार्ता टोली पठाओस्, हामी बार्ताका लागि तत्पर छौं,” मन्त्री पन्तले स्पष्ट पारे। सरकार र शिक्षक महासंघबीच आज बार्ता हुने भनिएको थियो। तर, सिंहदरबार प्रवेशका लागि मन्त्रालयले पठाएको नामावलीलाई महासंघले आधिकारिक नठानेपछि बार्ता अन्तिम समयमा भाँडिएको हो। शिक्षक महासंघले मन्त्रालयले पठाएको नामावली आफूहरूबाट अनुमोदन नभएको भन्दै सिंहदरबार प्रवेशद्वारमै फर्किएको थियो। बार्ता हुनै लाग्दा यस्तो अवरोध आउँदा आन्दोलन थप जटिल मोडमा जाने संकेत देखिएको छ। हाल आन्दोलनरत शिक्षकहरू नयाँ शिक्षा ऐन, स्थानीय तहको अधीनस्थ बनाउने नीति, तथा तलब सुविधा लगायतका विषयमा सरकारसँग असन्तुष्ट छन्। मन्त्री पन्तको बार्ता तयारीको भनाइले आन्दोलन समाधानतर्फको ढोका खुल्ने आशा गरिएको छ।