काठमाडौं, ११ वैशाख — देशभरि आवासीय चिकित्सकहरू आन्दोलनमा रहेका बेला नेपाल चिकित्सक संघ कोशी शाखाले पनि सशक्त दबाब दिँदै मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। कोशी प्रदेशका चिकित्सकहरूले संशनिहाटस्थित संघको कार्यालयबाट र्याली निकाल्दै मोरङ जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन्। संघका अध्यक्ष डा. राजेन्द्र चौधरी, महासचिव डा. बालकृष्ण साह लगायत आवासीय चिकित्सक र मेडिकल अफिसरहरूको सहभागिता रहेको उक्त टोलीले सरकारसँग तीनवटा मुख्य मागसहित ज्ञापनपत्र बुझाएका हुन्। चिकित्सक संघका मुख्य तीन माग यसप्रकार छन् :१. निजी मेडिकल कलेजमा समेत आठौं तहको सेवा सुविधा लागू गर्नुपर्ने।२. आवासीय चिकित्सकहरूको कार्यसमयसम्बन्धी स्पष्ट र व्यवहारिक मापदण्ड बनाइनुपर्ने।३. चिकित्सकहरूको भावना सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने। सुनसरी जिल्लामा पनि चिकित्सक संघका प्रतिनिधिहरूले इनरुवा अस्पतालका चिकित्सकहरूको साथमा जिल्ला प्रशासन कार्यालय पुगेर सोही ज्ञापनपत्र बुझाएका छन्। संघले चेतावनी दिँदै भनेको छ — “यदि वैशाख १२ भित्र माग सुनुवाइ भएन भने, आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारिनेछ।”