काठमाडौं । बीमा क्षेत्रबाट पहिलोपटक सामूहिक लगानी कोषको कोष प्रवद्र्धक बनेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले “रिलायबल समृद्धि योजना” नामक बन्दमुखी लगानी योजना सार्वजनिक निष्काशनमा ल्याएको छ। रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले योजना व्यवस्थापकको भूमिका निर्वाह गर्ने यस योजनाको कुल आकार एक अर्ब रुपैयाँ रहेको छ। त्यसअन्तर्गत रु ८५ करोड बराबरका ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याइएको हो। बीमा क्षेत्रबाट प्रवद्र्धन भएको नेपालकै पहिलो सामूहिक लगानी कोषको रूपमा यो योजना ऐतिहासिक मानिएको छ। योजना अन्तर्गत वार्षिक औसत प्रतिफल १७.७३ प्रतिशतको प्रक्षेपण गरिएको छ, जसले लगानीकर्ताको आकर्षण थप्ने अपेक्षा गरिएको छ। यो बन्दमुखी योजना २०८२ साल वैशाख ३ गतेदेखि न्यूनतम ५ दिन अर्थात् वैशाख ७ गतेसम्म र अधिकतम वैशाख १७ गतेसम्म खुला रहनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म आवेदन दिन सक्नेछन्। आवेदन सी-आश्वा सुविधा रहेको बैंक वा मेरो शेयर प्रणालीमार्फत अनलाइनमार्फत गर्न सकिनेछ। रिलायबल नेपाल लाइफका अनुसार यो योजना लगानीकर्तालाई दीर्घकालीन रूपमा लाभदायक हुने निश्चितता दिँदै ल्याइएको हो। कम्पनीले शेयरधनीहरूलाई उत्कृष्ट प्रतिफल दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।