काभ्रेपलाञ्चोक – पाँचखाल नगरपालिकामा सञ्चालनमा रहेका इँटा उद्योगहरूलाई सर्वोच्च अदालतले बन्द गर्न आदेश दिएसँगै यहाँको औद्योगिक गतिविधिमा ठूलो परिवर्तनको संकेत देखिएको छ। पर्यावरण र जनस्वास्थ्यमा गम्भीर असर पार्दै आएका कारण सर्वोच्चको आदेशसँगै इँटा भट्टाहरूमा तालाबन्दी सुरु हुने भएको छ।
२०७६ पुस १४ मा स्थानीयबासीले पाँचखाल नगरपालिका, वन तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय र पुरातत्व विभागलाई विपक्षी बनाउँदै सर्वोच्चमा दायर गरेको रिटको आधारमा अदालतले यस्तो निर्णय सुनाएको हो।
हाल पाँचखाल क्षेत्रमा आठवटा इँटा भट्टा सञ्चालनमा रहेका छन्। यी उद्योगहरूबाट वायु प्रदूषण, फोक्सो रोग, बालबालिकामा श्वासप्रश्वास सम्बन्धी समस्या र वातावरणीय क्षति व्यापक रूपमा बढेको गुनासो स्थानीयले गर्दै आएका थिए।
सर्वोच्चको आदेशपछि पाँचखाल नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अब इँटा भट्टासहितका उद्योगहरूलाई वातावरणमैत्री ढाँचामा रूपान्तरण गर्न नीति निर्माणको प्रक्रिया अघि बढाएको जनाएको छ।
नगरपालिकाले ल्याउन लागेको नयाँ वातावरण नीति अनुसार, उद्योगहरूमा धुवाँ निस्किन रोक्ने प्रविधि, हरियाली क्षेत्रको संरक्षण र प्रदूषण नियन्त्रणमा ध्यान दिने भनिएको छ।
यो आदेशले पाँचखालका स्थानीयलाई राहत दिलाउने देखिए पनि व्यवसायीक क्षेत्रमा भने अन्योलता उत्पन्न भएको छ। नगरपालिकाले सुधार र विकल्पसहितको वातावरणमैत्री योजना कार्यान्वयन गर्न सकेमा यसलाई दीर्घकालीन फाइदाको रुपमा लिन सकिने जनाइएको छ।