मुम्बई, बैशाख १ — बलिउड अभिनेता सलमान खानको सुरक्षालाई लिएर फेरि एकपटक मुम्बई प्रहरी उच्च सतर्क बनेको छ। पछिल्लो पटक वर्ली ट्राफिक डिपार्टमेन्टको आधिकारिक व्हाट्सएप नम्बरमा आएको एक अज्ञात सन्देशले सलमान खानमाथि ज्यान मार्ने धम्की दिएको छ, जसमा उनको गाडी बम विस्फोटबाट उडाउने चेतावनीसमेत उल्लेख गरिएको थियो। यो धम्कीसँगै, मुम्बई प्रहरीले तुरुन्तै आवश्यक कदम चालेको छ। अप्रिल १४ मा ग्यालेक्सी अपार्टमेन्ट आसपास शंकास्पद गतिविधि देखिएपछि दुई युवालाई नियन्त्रणमा लिइयो। रातो टोपी लगाएका ती युवाहरूको कडाईका साथ खानतलासी गरियो—पाइन्टको खल्ती छामियो, सुरक्षाजाँच गरियो—तर ठोस प्रमाण फेला नपरेपछि केही समयमै उनीहरूलाई छोडिएको थियो। गत वर्ष ग्यालेक्सी अपार्टमेन्ट बाहिरै गोली चलाएको घटनापछि सलमानमाथि ज्यानको खतरा झनै गहिरिएको छ। प्रहरी स्रोतका अनुसार यो हालको धम्की पनि सम्भवतः सोही श्रृङ्खलाको निरन्तरता हो। यसरी बारम्बार धम्की आइरहँदा, अब सलमानको सुरक्षामा फेरि विशेष ध्यान दिइएको छ। उनको घर वरपर सुरक्षाकर्मीहरूको उपस्थिति बाक्लिएको छ भने आम नागरिकका लागि कार पार्किङ र फोटो खिच्नसमेत निषेध गरिएको छ। बलिउडका चर्चित स्टारहरूमध्ये सलमान खानको घर अगाडि सधैंजसो प्रशंसकहरूको भिड लागिरहन्छ। तर अहिलेको अवस्था यस्तो छ कि आम दर्शकको पहुँचसमेत रोकिएको छ।