काठमाडौं, चैत २१ –खानामा लापरवाही गर्ने समय अब सकिएको छ। काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त प्रयासमा उपत्यकाका क्यान्टिन र होटलहरूमा खाद्य सुरक्षाको व्यापक अनुगमन सुरु गरिएको छ। विशेषता के छ भने, यो अनुगमन मोबाइल फुड ल्याब अर्थात् ‘घुम्ती प्रयोगशाला’मार्फत भइरहेको छ — जुन नेपालमै पहिलोपटक सञ्चालनमा आएको हो। महानगरकी उपप्रमुख सुनिता डंगोलले आज थापाथलीस्थित परोपकार प्रसूति गृह र नर्भिक अस्पतालका क्यान्टिनहरूको निरीक्षण गर्दै मोबाइल ल्याबको प्रयोगबाट अनुगमनको शुभारम्भ गरिन्। यो ल्याब प्रयोगशालाबाट सीधै स्थलमै खाद्य नमूना संकलन र परीक्षण गर्न मिल्ने भएकाले तत्काल नतिजा उपलब्ध हुन्छ, जसले निर्णय लिन सहज बनाउँछ। अनुगमन टोलीले चमेना गृह, स्टाफ क्यान्टिन, निशुल्क खाजाको भान्छा, नर्भिक अस्पतालको क्याफे लगायतका स्थानमा दूध, पानी, तेल, अचार र क्रिम डोनट जस्ता खाद्य वस्तुहरूको नमूना संकलन गर्यो। प्रारम्भिक परीक्षणअनुसार दूध, पानी र तेल गुणस्तरीय पाइएको छ भने केही नमूनाहरू रिफरेन्स ल्याबमा थप परीक्षणका लागि पठाइएको छ। उपप्रमुख डंगोल भन्छिन्, “हामी वैज्ञानिक आधारमा निर्णयमा पुग्नेछौं। यस अनुगमनबाट हामी उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न गम्भीर छौं।” महानगरका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार परोपकार अस्पतालको क्यान्टिनमा मासुजन्य वस्तु र तरकारी एउटै ठाउँमा राखिएको, भान्छा फोहोर रहेको, चुलो र रेफ्रिजरेटरको सरसफाइ कमजोर रहेको पाइयो। साथै लेबल नभएका र रंग मिसाइएको खाद्य सामग्रीको प्रयोग पनि देखिएको छ। भान्छाको टाईल फुटेको र झिँगा–साङ्लाको समस्या समेत देखिएको छ। अनुगमन टोलीले यस्ता क्यान्टिनहरूलाई तत्काल सुधारको लागि निर्देशन दिएको छ। यदि सुधार नभए थप कारवाही हुने महानगरका प्रतिनिधिहरूले बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालका अनुसार, “महानगरसँगको सहकार्यबाट गुणस्तरीय नतिजा आउने अपेक्षा गरिएको छ।” यस अभियानबाट बजारमा अस्वस्थ र अमानक खाद्य सामग्री बिक्रीमा नियन्त्रण आउने विश्वास गरिएको छ। सहरी जीवनशैलीसँगै क्याफे र क्यान्टिनको प्रयोग बढ्दो छ। तर, यिनको स्वच्छता र गुणस्तरप्रति गम्भीर ध्यान नदिँदा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। काठमाडौँ महानगरको यो पहलले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्य सेवा उपलब्ध गराउने दिशामा ठोस पाइला अघि सारेको छ।