+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाज

महोत्तरीको चुरेमाछेत्रमा वायु प्रदूषण: स्वास्थ्य जोखिम बढ्यो

बर्षा नहुँदा प्रदूषण हट्ने कुनै संकेत नदेखिएकोले आगामी दिनमा अझै सतर्क रहन चिकित्सकहरूले सुझाएका छन्। यदि अवस्था यस्तै रह्यो भने दीर्घकालीन स्वास्थ्य समस्या निम्तिन सक्ने चेतावनी समेत दिइएको छ।

जनवाच
२ हप्ता अगाडी

महोत्तरी, २७ चैत – महोत्तरीको चुरे क्षेत्र वायु प्रदूषणको चपेटामा परेको छ। लगातार बाक्लो धुवा र प्रदूषणका कारण स्थानीयहरू आँखा पोल्ने, सास फेर्न गाह्रो हुने तथा विभिन्न स्वास्थ्य समस्या झेल्न बाध्य भएका छन्।

विशेष गरी औरही, बर्दिवास र गौशाला नगरपालिका आसपासका क्षेत्रमा यो समस्या गम्भीर रूपमा देखा परेको छ। विगत केही दिनदेखि वायु प्रदूषण उच्चस्तरमा पुगेको र घरभित्रै बस्दा पनि आँखा पोल्ने तथा स्वासप्रश्वासमा कठिनाइ भइरहेको स्थानीयहरू बताउँछन्।

स्थानीय युवा अमिश रिसालका अनुसार, “हिजो राति ९ बजे कोठाभित्रै हुँदा पनि आँखामा जलन भयो, बाहिर निस्कन त झन् गाह्रो छ। यदि यो अवस्था निरन्तर रह्यो भने स्थिति भयावह बन्न सक्छ।”

स्वास्थ्यकर्मीहरू पनि वायु प्रदूषणका कारण गम्भीर असर पर्न सक्ने भन्दै सचेत गराइरहेका छन्। शुभस्वस्तिक अस्पतालका प्रमुख दीपक कार्कीले विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई बढी जोखिम हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहका अनुसार, चुरे क्षेत्रमा भइरहेको डढेलो प्रमुख कारण हुनसक्छ। वन क्षेत्रमा जताततै आगलागी भइरहेकाले वायुप्रदूषण अत्यधिक बढेको हुनसक्ने उनले बताए। “वन नै सखाप हुने गरी आगलागी भइरहेको छ, जसले गर्दा हावामा धुलो, धुँवा र विषालु कणहरू मिसिएर समस्या सिर्जना गरेको छ,” उनले भने।

विशेषज्ञहरूले वायुप्रदूषणको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउनुपर्ने बताइरहेका छन्। स्वास्थ्यकर्मीहरूले अनावश्यक रूपमा बाहिर नजान, मास्क प्रयोग गर्न, पर्याप्त पानी पिउन तथा घरभित्र पनि सकेसम्म सफा हावाको व्यवस्थापन गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ