मुलुक कै राजधानी काठमाण्डौं एक सुविधासम्पन्न ठुलो शहर हो । तर राजधानी रहेको जिल्लामा पनि ग्रावेल समेत नभएको सडक सहितको गाउँ छ भन्दा सबैलाई अनौठो लाग्न सक्छ ।
काठमाण्डौंको सुन्दरीजलबाट करिब ७ किलोमिटर मात्र दुरी भएपनि काठमाण्डौंको न्युरोडबाट मोटरसाईकलमा जाँदा करिब १ घण्टा जति लाग्छ । सुन्दरीजल भन्दा थोरै माथि शिवपुरी निकुञ्ज हुँदै जँगलको बाटो ओख्रेनी गाउँ पुग्न सकिन्छ ।
सुन्दरीजलबाट गाउँ पुग्दा सम्म ग्रावेल बाटो छ । कतिपय ठाउँमा अत्याधिक उकालो भएका कारण सडक भत्किने समस्या भएकाले ढलान पनि गरेको पाईन्छ । गाउँभित्र अधिकाँश बाटो भने अझै पनि कच्चि नै छन् । सार्वजनिक बसमा समयको समन्वय गर्न नसकेमा मोटरसाइकल वा स्कुटरमा पनि जान सकिन्छ ।

दिनमा बिहान काठमाण्डौं आउने र बेलुका ४ बजे नै गाउँ फर्किने सार्वजनिक बस चल्छ । बिहान ५ बजे र ९ बजे बिद्यार्थीलाई स्कुल तथा क्याम्पस पढ्न सजिलोको लागि बस सँचालन भएको रहेछ । राम्रो पक्ष भनेको विद्यार्थीलाई बसको भाडा नलाग्ने रहेछ ।
चारैतिर जँगलले घेरीएर रहेको यो गाउँ हाइकिङ्ग र एकदिनको छोटो भ्रमणका लागि भने एक उत्कृष्ट गन्तव्य हुन सक्दछ । आजभोली यसका लागि यो गाउँ युवाहरुको आकर्षणको केन्द्र पनि भइरहेको छ । साइक्लिङ्गको लागि पनि युुवाहरुले यो गाउँलाई एक उत्तम ठाउँको रुपमा रोजेको पाइन्छ ।
काठमाण्डौंमा बग्ने वाग्मति नदीको उद्गम स्थल पनि यसै स्थानमा पर्दछ । जसलाई बागद्वार नामले चिनिन्छ । बागद्वार पुग्न गाउँ देखि पर पहाडको चुुचुरो तर्फ २ किलोमिटर जति माथि जँगलको बीचमा पुग्नुपर्दछ ।

बाटोमा धेरै खोला, खोल्सा तथा झरनाहरु भेटिन्छन् । जँगलको बीचमा सुन्दरीमाईको मन्दिर पनि छ । बाग्मति नदिको किनारमा यो मन्दिर रहेको छ । मन्दिर नजिकै सुन्दरीजलको पुरानो ड्याम पनि रहेको छ ।
चारैतिर जँगलले घेरिएको हुनाले यहाँ चराचुरुङ्गिको बाक्लो चहलपहल देखिन्छ । यहाँ विभिन्न जातका चराचुरुङ्गिहरु पाईन्छन् । कहिलेकाहिँ जँगली जनावरहरु पनि देख्न पाईन्छ ।
यहाँका स्थानीयहरुको मुख्य पेशा कृषि हो । केहि व्यक्तिहरुले यहाँ आधुनिक कृषि गरेको पनि पाइन्छ । अधिकाँशले भने परम्परागत कृषि नै गरिरहेका छन् । प्राकृतिक रुप मै पानीको प्रसस्त स्रोत भएकाले खानेपानी र सिँचाइको लागि यहाँ कुनै समस्या देखिदैन ।

गाउँमा सानातिना पसलहरु पनि पाइन्छन् । केहि सामान्य खाजा पसल पनि छन् भने एउटा होमस्टे पनि सँचालनमा छ । अरु होमस्टे सँचालन गर्ने सम्बन्धि केहि प्रकृया अघि बढेकोले निकट भविष्यमा रात बिताउने गरी त्यहाँ जाँदा पनि समस्या नहुने देखिन्छ ।
भविष्यमा राम्रो सम्भावना बोकेको यो गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने स्थानीय कृषक हरि दँगाल बताउनुहुन्छ । उहाँका अनुसार भविष्यमा रिसोर्ट खोल्ने मनसायले केहि व्यक्तिहरुले यस गाउँमा जग्गा खरिद गरेको बताउनुभयो ।

उनका अनुसार चारैतिर जँगलले घेरिएर रहेको गाउँ भएका कारण निक्कै स्वस्थ वातावरण भएको र काठमाण्डौं शहरबाट करिब १ घण्टाको दुरीमा रहेकाले स्थानीय पर्यापर्यटनको लागि यो एक उत्तम विकल्प देखिएको बताउनुहन्छ ।
शिवपुरी राष्टिय निकुञ्जले टिकट शुल्क लिने गर्दछ । एकजना व्यक्तिको रु. १ सय र मोटरसाईकल वा स्कुटरको १ सय ५० रुपैया लिने गर्दछ । यो गाउँलाई ओझेल पार्नमा शिवपुरी राष्टिय निकुञ्जको शुल्क पनि एक समस्या भएको स्थानीय समाजसेवी ऋषि खत्रिले बताउनुभयो ।
गाउँमा जान पनि शुल्क तिर्नुुपर्ने भएका कारण स्थानीय पर्यटकहरुले अन्य गन्तव्य रोजेको खत्रिको धारणा छ ।