काठमाडौं । राप्रपाका नेता ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर राखिएको विषयमा गम्भीर आरोप लगाएका छन्।
शाहीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले योगी आदित्यनाथको तस्बिर राख्न लगाएको दाबी गरेका छन्। उनले नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न नियोजित रूपमा यस्तो गरिएको आरोप समेत लगाएका छन्।
“हिजो पूर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीको निर्देशनमा उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ। नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई भाड्न यस्तो कुकर्म गरिएको छ,” शाहीले लेखेका छन्।
उनले थप प्रश्न उठाएका छन्, “बिदेशीका एजेन्डामा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ। माक्र्स, लेनिन, माओ कुन देशका हुन्?”