काठमाडौं, फागुन २१ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मानव अधिकारको रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। उनले संविधानप्रदत्त मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्दै कानुनी शासनको पालना गराउने स्पष्ट धारणा व्यक्त गरेका छन्।
मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन तथा मानव अधिकार एलायन्सको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानव अधिकारको उल्लंघन हुन नदिने प्रतिबद्धता व्यक्त गरे। ‘यसअघि मानव अधिकारका नाममा नक्कली मुद्दा उठाउने प्रवृत्ति पनि देखिएको छ। तर सरकार यथार्थपरक अधिकार सुनिश्चित गर्न प्रतिबद्ध छ,’ उनले भने।
भोकमरी र गरिबी अन्त्य नगरी मानव अधिकारको कुरा मात्र कागजी रहन नसक्ने उल्लेख गर्दै जीवनस्तर उकास्न सरकार क्रियाशील रहेको बताए।
प्रधानमन्त्री ओलीले लोकतन्त्र प्राप्तिका लागि भएको संघर्षमा बलिदान दिने शहिदहरूको योगदान स्मरण गरे। उनले पञ्चायती शासनविरुद्धको आन्दोलनमा सहादत प्राप्त गरेका सुखानीका शहिदहरूलाई सम्झिँदै नागरिक अधिकारको रक्षा गर्न सरकार दृढ रहेको बताए।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वरिष्ठ पत्रकार भैरव रिसाललाई ‘केपी शर्मा ओली मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार’ प्रदान गरे। सो पुरस्कार छनोट समितिमा मानव अधिकारकर्मी सुशील प्याकुरेल, डा. विपिन अधिकारी र डा. उषा झा थिए।
कार्यक्रममा नेकपा (एमाले) नेता भानुभक्त ढकाल, एलायन्सका इञ्चार्ज विष्णु रिजाल, नेपाली कांग्रेसका नेता दलबहादुर रावल, गैरसरकारी संस्था महासंघका अध्यक्ष राम सुवेदी लगायतको उपस्थिति रहेको थियो।