काठमाडौं, वैशाख ७ – नेपालको हिमाली जनजीवनको अभिन्न अंग याक अब संरक्षणको केन्द्रबिन्दुमा पुगेको छ। पहिलोपटक मनाइएको राष्ट्रिय याक दिवस को अवसरमा सरकारले याकको संरक्षण, प्रजनन सुधार र व्यावसायिक विकासमा गम्भीर प्रतिबद्धता जनाउँदै हिमाली जीवनशैलीसँग गाँसिएको यो सम्पदालाई राष्ट्रिय प्राथमिकतामा राख्ने घोषणा गरेको छ। ‘याक चौँरी प्रवद्र्धनः हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’ नाराका साथ ललितपुरमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी ले याकपालनलाई केवल आर्थिक साधन मात्र नभई जलवायु सन्तुलन, जैविक विविधता र संस्कृतिको वाहकका रूपमा चित्रण गर्नुभयो। मन्त्री अधिकारीका अनुसार, “भौगोलिक कठिनाइ, युवा पुस्ताको पलायन, चरन क्षेत्रको संकट र जलवायु परिवर्तनका कारण याकपालन संकटमा छ। अब संरक्षित मात्रै होइन, सुदृढ र आधुनिक याकपालन प्रणालीको स्थापना हाम्रो साझा उत्तरदायित्व हो।” सरकारले याकको संरक्षणका लागि सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवांशिक स्रोत केन्द्र सञ्चालनमा ल्याएको छ। यस केन्द्रले शुद्ध नस्ल संरक्षण, आनुवांशिक सुधार, प्रविधिको विस्तार र आधुनिक व्यावसायिक पद्धतिहरूको सुरुवात गरिसकेको छ। कार्यक्रममा संरक्षणकर्मीहरूले याकलाई हिमाली सभ्यताको प्रतिनिधि भन्दै यसको उत्पादन—जस्तै छुर्पी, दही, चिज—लाई ओमेगा–३ फ्याट्टी एसिडको स्रोत र अन्तर्राष्ट्रिय बजारका लागि विशेष उत्पादनको रूपमा चिनाउनुपर्ने धारणा राखे। याकको छाला र पुच्छरबाट बन्ने वस्तु, पर्यटकलाई आकर्षित गर्ने “याक ट्रेल”, सामान ढुवानी र खेत जोत्नेसम्मको प्रयोगले याकलाई हिमाली अर्थतन्त्रको आधार बनाउने सम्भावना प्रस्टिएको छ।