+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

दिगो विकासका लागि आत्मनिर्भरता अपरिहार्य छ — प्रधानमन्त्री ओली

समाप्तिमा उहाँले नयाँ वर्षको सन्दर्भमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई शुभकामना दिँदै आत्मबल, राष्ट्रिय एकता र सुशासनको बलमा समृद्ध नेपाल निर्माणको यात्रामा अघि बढ्न सबैलाई आह्वान गर्नुभयो।

जनवाच
२ घण्टा अगाडी

 काठमाडौं, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोन्द्राङ–पुल्चोक खण्डको एसियाली मापदण्डअनुसार निर्माण सम्पन्न भएपछि आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भर विकासको आवश्यकता र राष्ट्रिय एकताको महत्वलाई जोड दिनुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “अरुले आएर देश बनाइदिन्नन्, हामी सबै मिलेर बनाउनु पर्छ।” उहाँले विगतका अस्थिर राजनीतिक अवस्थाले विकासलाई अवरुद्ध पारेको भए पनि हाल स्थायित्व आएको र देशले तीव्र विकासको गति लिएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री ओलीले चितवन क्षेत्रको भौगोलिक महत्वको चर्चा गर्दै यसलाई ‘सेन्ट्रल हब’ को रूपमा विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। “यो क्षेत्र भूगोल, शिक्षा, स्वास्थ्य र पर्यटनका दृष्टिकोणले पनि केन्द्र हो, त्यसैले यहाँबाट एसियाली मापदण्डको सडक विकास थालिएको हो,” उहाँले भन्नुभयो।

उहाँले वर्तमान सरकारले कनेक्टिभिटी, विद्युत्, सञ्चार, खेलकुद, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा देखिएको प्रगतिको उल्लेख गर्दै, “हामीले धेरै कुरा गरेका छौं, तर अझ धेरै गर्न बाँकी छ,” भन्नुभयो।

सडक, पुल, इन्टरनेट विस्तार, रंगशाला निर्माणदेखि लिएर आयुर्वेद र परम्परागत स्वास्थ्य प्रणालीको विकाससम्मका कामलाई समेट्दै ओलीले ‘गफ होइन, काम गरेर देखाउने’ सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो।

“शहरी क्षेत्रमा उच्च मापदण्डको सडक बनाउने अभ्यास शुरु भइसकेको छ, अब बाटो बनेपछि फेरि खन्ने काम हुनु हुँदैन, सुरुमै समग्र योजना आवश्यक छ,” उहाँले उल्लेख गर्नुभयो।

प्रधानमन्त्री ओलीले पछिल्ला दिनहरूमा कानूनको शासनलाई कार्यान्वयनमा ल्याइएको, भ्रष्टाचार नियन्त्रणमा दृढता देखाइएको र देश सुशासन र विकासतर्फ अग्रसर रहेको उल्लेख गर्नुभयो। “अब चुनाव होइन, विकासमा केन्द्रित होऔं,” भन्ने सन्देश दिँदै उहाँले राजनीतिक मतभेदभन्दा माथि उठेर देश निर्माणमा सबैलाई आह्वान गर्नुभयो।

समारोहमा प्रधानमन्त्री ओलीले घरजग्गा र सम्पत्ति साटेर विकासको लागि ठाउँ छोड्ने स्थानीय जनताको त्यागप्रति कृतज्ञता व्यक्त गर्दै, “हामी जनताको पीरमर्का बुझ्ने र त्यसको समाधानसहित विकासमा अघि बढ्ने सरकार हौं,” भन्नुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ