काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटको चिरपरिचित प्रतिस्पर्धी भारत र अस्ट्रेलिया आज च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आमनेसामने हुँदैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो रोचक भिडन्त नेपाली समय अनुसार अपराह्न २:४५ बजे सुरु हुनेछ ।
समूह ‘ए’ को विजेता भारत अपराजित यात्रासहित सेमिफाइनलमा पुगेको छ भने समूह ‘बी’ को उपविजेता अस्ट्रेलियाले पनि बलियो प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
यो खेल भारतका लागि ऐतिहासिक बदला लिने अवसर पनि हुनेछ । २०२३ एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि भारतले क्रिकेट प्रेमीहरूलाई निराश बनाएको थियो । अब त्यही अस्ट्रेलियालाई हराएर फाइनल पुग्ने लक्ष्यसहित भारतीय टिम मैदान उत्रनेछ ।
भारत र अस्ट्रेलियाबीच एकदिवसीय क्रिकेटमा अहिलेसम्म १५१ खेल भएका छन्, जसमा अस्ट्रेलियाले ८४ जित निकालेको छ भने भारतले ५७ खेलमा जित हात पारेको छ । १० खेल नतिजाविहीन भएका छन् ।
त्यस्तै, च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनल बुधबार न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच पाकिस्तानको लाहोरमा हुनेछ । फाइनल खेल आगामी आइतबार हुनेछ, जसमा क्रिकेट विश्वका दुई उत्कृष्ट टोली उपाधिका लागि भिड्नेछन् ।