काठमाडौँ । च्याम्पियन्स ट्रफी अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले न्यूजील्याण्डलाई २५० रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २४९ रनको सम्मानजनक स्कोर खडा गरेको हो।
भारतका लागि श्रेयस अय्यरले सर्वाधिक ७९ रनको योगदान दिए भने हार्दिक पाण्ड्याले ४५ रन जोड्दै टिमलाई मजबुत स्थितिमा पुर्याए। त्यसैगरी अक्षर पटेलले ४२, केएल राहुलले २३ र रविन्द्र जडेजाले १६ रन बनाए।
बलिङतर्फ न्यूजील्याण्डका म्याट हेनरी भारतका लागि सबैभन्दा घातक बलर सावित भए। उनले ५ विकेट झार्दै भारतीय ब्याटिङ लाइनअपलाई दबाबमा राखे।
दुवै टिम सेमिफाइनलमा प्रवेश गरिसकेकाले यो खेलले समूह ‘ए’ को विजेता र उपविजेताको टुंगो लगाउनेछ। अब भारतको बलिङ लाइनअपले न्यूजील्याण्डको ब्याटिङ शक्ति रोक्न सक्नेछ कि भन्ने कुराले खेललाई अझ रोचक बनाएको छ।