काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इजरायलका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्दै दुई देशबीच आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउनुपर्ने बताएका छन् ।
बिहीबार महासंघ सचिवालय, टेकुमा भएको भेटवार्तामा अध्यक्ष ढकालले नेपालमा कृषि, पर्यटन, ऊर्जा तथा सूचना प्रविधि क्षेत्रमा लगानीका अपार सम्भावना रहेको उल्लेख गर्दै इजरायली लगानीकर्तालाई आकर्षित गर्न इजरायली राजदूत श्मुलिक आरी बासलाई आग्रह गरेका हुन् ।
“नेपाल र इजरायलबीचको सम्बन्ध ऐतिहासिक रूपमा सुमधुर रहँदै आएको छ। कृषि, रोजगारी र प्रविधिमा इजरायलले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आएको छ। अब समय आएको छ कि हामी यी सम्भावनालाई अझ व्यावसायिक रूपमा अघि बढाऔं र दुवै देशलाई आर्थिक लाभ दिलाऔं,” अध्यक्ष ढकालले भने ।
इजरायली राजदूत बासले नेपालसँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा इजरायलले निरन्तर सहयोग गर्ने बताए ।
“इजरायल नेपालका लागि सधैंभरि एक भरोसिलो साझेदार रहँदै आएको छ। खासगरी कृषि क्षेत्रमा इजरायली प्रविधिको प्रयोगले नेपाली किसानहरूलाई ठूलो लाभ पुगेको छ। साना किसान सहकारीमार्फत हजारौं नेपालीले रोजगारीका अवसर प्राप्त गरिरहेका छन्, आगामी दिनमा पनि यो सहकार्यलाई अझ प्रभावकारी बनाइनेछ,” राजदूत बासले भने ।
नेपाल र इजरायलबीचको व्यापार तथा लगानी सहकार्यलाई प्रवद्र्धन गर्न महासंघ र इजरायली पक्षबीच थप छलफल र साझेदारीको पहल गर्ने समझदारी समेत गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया